Home Blog Page 240

अमेरिकामा कोरोनाका कारण १ लाख ८ हजार ४८ जनाको मृत्यु

काठमाडौं, जेठ २१-

कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ८ हजार ४८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार १२३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार ८०८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १८ लाख ८० हजार १३१ पुगेको छ ।

कुल संक्रमितमध्ये ६ लाख २५ हजार २६५ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ४६ हजार ८१८ जनामध्ये १७ हजार ९४ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोना संक्रमणबाट पाकिस्तानमा एक मन्त्रीको मृत्यु

२१ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पाकिस्तानमा एक जना मन्त्रीको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

सिन्ध प्रान्तका शिक्षामन्त्री सइद गनीका अनुसार मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो र स्थिति गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरिएको थियो । तर, उनको मंगलबार निधन भयो ।

मुर्तुजा बलोच पाकिस्तानको पिपुल्स पार्टी (पीपीपी)को कराँची अध्यक्षसमेत थिए । उनी सन् २०१६ मा विधानसभा सदस्य चुनिएका थिए ।

पीपीपीका अध्यक्ष बिलावल भुट्टो र सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अली शाहले मुर्तुजाको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।

कोरोनाबाट मृत्यु भएका परिवारलाई प्रदेश सरकारले एक लाख दिने

बुटवल, जेठ २०–

प्रदेश नं ५ सरकारले प्रदेशमा कुनै पनि नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएमा मृतकको परिवारलाई रु एक लाख राहत उपलब्ध गराउने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले मृतकका परिवारलाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट रु एक लाख उपलब्ध गराउने निर्णय भएको बैठकपछि सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो ।

प्रदेशका बाँकेमा र दाङमा शववाहन खरीद गर्न नेपालगञ्ज र तुलसीपुर उपमहानगरपालिका लाई रु १५– १५ लाख अनुदान उपलब्ध गराइने र ती उपमहानगरपालिका मातहत रहने व्यवस्था गरिएको छ । शववाहनलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष अस्पताल र दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएमा शवको व्यवस्थापन गर्ने जिम्मेवारी तोकिएको छ ।

यस्तै मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष (स्थापना र सञ्चालन) निर्देशिका पहिलो संशोधन २०७७ लाई स्वीकृत गरेको छ । संशोधित निर्देशिकामा कोरोना नियन्त्रणमा परिचालन हुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत जनशक्तिको सेवासुविधाको व्यवस्था गर्नेसमेत निर्णय भएको भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले जानकारी दिनुभयो ।

संशोधित निर्देशिकामा कोरोना भाइरसको परीक्षणका लागि प्रयोगशाला स्थापना तथा सञ्चालनमा लाग्ने आवश्यक उपकरण, औषधि, सामग्री, स्वाब सङ्कलन तथा सञ्चालनमा आवश्यक खर्चका लागि बजेट व्यवस्थापन, कोरोना उपचारका लागि आइसोलेशन केन्द्रमा रहने लक्षण नदेखिएका कोरोना संक्रमित व्यक्ति, उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई खाना खर्चको व्यवस्था गरिएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।

यस्तै बैठकले लैंगिक सम्पर्कविन्दु व्यवस्थापन र परिचालन कार्यविधि २०७७ र प्रदेश बाल क्लब सञ्जाल गठन तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७७ समेत पारित गरेको जनाइएको छ ।

थप १३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १ हजार ८११ पुग्यो

काठमाडौं, जेठ १९-

काोभिड–१९ को सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । गत माघ ९ गते पहिलो पटक वुहानबाट आएका एक युवामा सङ्क्रमण देखिएसँगै अहिले सङ्क्रमित एक हजार ८०० नाघेको छन् । आज मात्र विभिन्न ठाउँमा गरिएको परीक्षणमा एकै दिन २३९ जनामा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

आज डोटीमा पहिलो पटक सङ्क्रमण देखिएको छ । डोटीमा सङ्क्रमण देखिएसँगै ५९ जिल्लामा देखिएको हो । अब सङ्क्रमण नदिएका जिल्ला जम्मा १८ रहेका छन् । ती सङ्क्रमितमध्ये पुरुष २२६ जना र महिला १३ जना रहेका छन् । आज देखिएका २३९ सँगै सङ्क्रमित एक हजार ८११ पुगेका छन् ।

आज देखिएको सङ्क्रमण अहिलेसम्म बढी हो । हिजो आइतबार १६६ जना र गत शनिबार १८९ जना र गत शुक्रबार १७० जनामा सङ्क्रमण देखिएको थियो । आज देखिएका सङ्क्रमितसँगै एक हजार ७९८ जनामा देखिएको छ । तीमध्ये एक हजार ६६७ जना पुरुष र १३१ जना महिला रहेका छन् ।

आज देखिएका सङ्क्रमित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापा बाह्रदशीका ३२ र ४६ वर्षका पुरुष रहेका छन् । यस्तै पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नवलपुर कावासोतीका २२ र ३६ वर्षीय पुरुष र नवलपुर विनात्रिवेणीका १४ वर्षीया बालक रहेका छन् । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जनामा सङ्क्रमण देखिएको छ । दैलेखको नारायण नगरपालिकाका नौ जना १७ देखि ३५ वर्ष उमेर पुरुष, दैलेख सिमडाका दुई जना २४ वर्ष र २९ वर्षका पुरुष रहेका छन् । यस्तै दैलेख देवकाँडाका तीन जना १८ वर्षदेखि ३४ वर्षका, दैलेख सोतका एक जना ३५ वर्षीय पुरुष, दैलेख साँदुका एक जना २२ वर्षीय पुरुष, दैलेख जुकेपानीका एक जना ६० वर्षीय पुरुष रहेका छन् ।

यस्तै दैलेख दुल्लुका सात जनामा पनि सङ्क्रमण देखिएको छ । तीमध्ये २३ वर्ष र ३० वर्षका महिला तथा र दुईका बालकदेखि ३९ वर्ष उमेर समूहका पुरुष रहेका छन् । यस्तै जुम्ला हिमाका आठ जना पुरुष २३ वर्षदेखि ६३ वर्षका रहेका छन् । जुम्ला सिंजाका नौ जना १२ वर्षीया बालकदेखि ४५ वर्ष उमेर समूहका रहेका छन् ।

यस्तै जुम्लामा नै कार्यरत रहेका २७ वर्ष र ३४ वर्षका पुरुषमा पनि सङ्क्रमण देखिएको छ । सुर्खेत अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ३२ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये दैलेख नारायण नगरपालिकाका १६ जना पुरुष १० वर्षीया बालकदेखि ३६ वर्ष उमेर समूहका रहेका छन् । यस्तै दैलेख महावु गाउँपालिकाका एक जना २५ वर्षका पुरुष रहेका छन् । सल्यान कुपिण्डेका १० जना पुरुष २० वर्षदेखि ४० वर्षसम्मका रहेका छन् । सुर्खेत वराहातालका पाँच जना २० वर्षदेखि २६ वर्षका पुरुष रहेका छन् ।

यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा २० जनामा सङ्क्रमण देखिएको छ । तिनमा कपिलवस्तु वाणगङ्गाका ३१ वर्ष र ३८ वर्षीय महिला रहेका छन् । रौतहट परौवाका १४ जना १९ वर्षदेखि ४५ वर्षका पुरुष, रौतहट यमुनामाईका तीन जना पुरुष २२ देखि ३५ वर्षका र एक जना महिला २० वर्षका रहेकी छन् ।

यस्तै भेरी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सात जना डुडुवा गाउँपालिकाका १७ देखि ३५ वर्ष उमेरका पुरुष रहेका छन् । राप्ति अस्पताल दाङमा गरिएको परीक्षणमा नौ जनामा सङ्क्रमण देखिएको छ । ती सबै दाङका पुरुष हुन् । तुल्सीपुर उपमहानगरपालिकाका पाँच जना १८ वर्षदेखि ३२ वर्षका, गढवा गाउँपालिकाका दुई जना २४ वर्ष र ३६ वर्षका, लमही नगरपालिकाका एक जना ४० र राप्ति गाउँपालिकाका एक जना ३६ वर्षका पुरुष रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ९२ जनामा सङ्क्रमण देखिएको छ । धनुषा धनौजीका चार जना १८ वर्षदेखि ४८ वर्षसम्मका पुरुष, धनुषा हंसपुरका दुई जना १९ वर्ष र २० वर्षका पुरुष, धनुषाकै जनकपुर अस्पतालमा रहेका एक जना २१ वर्षका पुरुष रहेका छन् ।

यसैगरी कपिलवस्तु शिवराजका १२ जना १९ देखि ५५ वर्षका पुरुष, कपिलवस्तु हरिहरपुरका आठ जना पुरुष १९ देखि ३८ वर्षका र कपिलवस्तु महाराजगञ्जका ३० वर्ष र ३३ वर्षका पुरुष रहेका छन् । कपिलवस्तु रङ्गीलामा रहेको क्यारेन्टिनमा रहेका ११ जना १७ वर्षदेखि ३५ वर्ष उमेर समूहका पुरुष रहेका छन् । यस्तै कपिलवस्तु चनौटाका तीन जना पुरुष ४२ देखि ४८ वर्षका, कपिलवस्तुकै रघु सामुदायिक विद्यालयको क्यारन्टिनमा रहेका दुई जना २७ वर्ष र ४६ वर्षका पुरुष रहेका छन् ।

महोत्तरीका दुई जना पुरुष दुवै १८ वर्षका रहेका छन् । यस्तै मकवानपुर एक जना ६४ वर्षीय पुरुष रहेका छन् । सर्लाहीको जनतामावि क्यारन्टिनमा रहेका पाँच जनामा पनि सङ्क्रमण देखिएको छ । ती नौ वर्षका बालिकासहित २७ वर्षका सबै महिला र सोही स्कुलको क्यारन्टिनमा रहेका ३३ जना ११ वर्षका बालकदेखि ७५ वर्ष उमेर समूहका पुरुष रहेका छन् ।

सिराहाका पाँच जना १८ वर्षदेखि ६० वर्ष उमेरका सबै पुरुष रहेका छन् । उदपुरका हाल जनकपुर प्रादेशिक अस्पतालमा रहेका एक जना ३१ वर्षका पुरुष रहेका छन् । यस्तै प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाल्पा निस्दी गाउँपालिकाका १७ वर्ष र ३६ वर्षका पुरुष, नवलपरासी सरावल गाउँपालिकाका–६ वर्षका बालक, गुल्मी रेसुङ्गा नगरपालिकाका २६ वर्षका पुरुष, कपिलवस्तु मायादेवी गाउँपालिकाका १९, २१, २६, २६, २७, ३५ र ४० वर्षका पुरुष तथा रुपन्देही गैडहवा गाउँपालिकाका तीन वर्षीया बालिका र ५४ वर्षका पुरुष रहेका छन् ।

यस्तै सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा १८ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये अछामका एक जना एक वर्षका बालक कैलाली १४ जना दुई वर्षीय बालकदेखि २७ वर्ष उमेरका रहेका छन् । तीमध्ये तीन जना महिला र ११ जना पुरुष छन् । बैतडीका एक जना ३४ वर्षका पुरुष, डोटीका एक जना २५ वर्षका पुरुष र कञ्चनपुरका एक जना ११ महिनाका बालकमा पनि संक्रमण देखिएको छ ।

अहिलेसम्म प्रदेश नं. २ मा सबैभन्दा बढी ६९४ जनामा सङ्क्रमण देखिएको छ । यस्तै प्रदेश नं. १ का नौ जिल्लामा १६८ जना, वागमती प्रदेशमा ४६ जना, गण्डकी प्रदेशका ६ जिल्लाका २६ जनामा, प्रदेश नं ५ को १० जिल्लाका ६२२ जना, कर्णाली प्रदेशका पाँच जिल्लामा १९८ जना र सुदूरपश्चिम प्रदेशमा सबै जिल्लामा ४५ जनामा संक्रमण देखिएको छ । पत्रकार सम्मेनमा काठमाडौँका एक जना र डडेल्धुराका ६ वर्षीय बालकको मृत्यु भएका व्यक्तिमा संक्रमण नदेखिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

२२१ जना डिस्चार्ज

आज एक जना डडेल्धुरा अस्पतालबाट २८ वर्षका पुरुष डिस्चार्ज भएका छन । उनी १० दिनमा डिस्चार्ज भएको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो । अहिलेसम्म २२१ जना डिस्चार्ज भएका छन । तिमध्ये १७३ जना पुरुष र ४८ जना महिला रहेका छन् । अहिलसम्म ७१ हजार ९०३ जनामा पीसीआर र एक लाख १३ हजार ७५७ जनामा आरडीटी विधिबाट परीक्षण गरिएको छ ।

दैलेखमा तनाव : भारतबाट आएका क्वारेन्टिनबाटै भागे

१९ जेठ, काठमाडौं । दैलेख सदरमुकामस्थित एक क्वारेन्टिनमा रहेका नागरिकहरु भागेका छन् । नारायण नगरपालिकाको नारायण क्याम्पसमा राखिएका नागरिकहरु सोमबार भागेका हुन् ।

१०५ जनाको क्षमता भएको क्याम्पसमा भारतबाट आएका २१९ जनालाई राखिएको थियो । कोरोना संक्रमितलाई पनि दुई दिनदेखि सँगै राखेपछि उनीहरु भागेका हुन् ।

दुई दिनअघि पुष्टि भएका १७ जनासमेत क्वारेन्टिनमा रहेका छन् । क्वारेन्टिनमै रहेका अन्यमा पनि सोमबार कोरोना पुष्टि भएको छ । योसँगै क्वारेन्टाइनमा रहेका संक्रमितको संख्या मात्रै ३४ पुगेको छ।

यता प्रहरीले भने भाग्न खोज्नेलाई पुन: क्वारेन्टिनमै राखिएको बताएको छ ।

दैलेखमा मजदुरीको लागि भारत गएका नागरिकहरु ठूलो संख्यामा भित्रिएका छन् । हाल नारायण नगरपालिकामा मात्रै १४ सय बढी नागरिक रहेका छन् । भारतबाट आउने क्रम नरोकिएकोले व्यवस्थापनमा कठिनाइ भएको मेयर रत्नबहादुर खड्काको भनाइ छ।