चितवन, मंसिर २७- नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोखरेलले नेपाली पत्रकारिता क्षेत्र स्वतन्त्रताको लडाइमा कहिल्यै पनि पछाडि नफर्कने बताएका छ्न । नेपाल पत्रकार महासंघ चितवन शाखाको साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै उपाध्यक्ष पोखरेलले उक्त कुरा बताएका हुन । उनले नेपाली पत्रकारिता क्षेत्रले लोकतन्त्र कमजोर हुन नदिने बताउदै नेपाली पत्रकारिता क्षेत्र चनाखो रहेकोले नेताहरुले लोकतन्त्र कसैले लग्ला भनेर चिन्ता गर्नु नपर्ने बताएका हुन । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहालले अझै पनि प्रेस स्वतन्त्रताको सुरक्षाको लागि पत्रकारहरु भुमिका गहन रहने बताए । साधारण सभामा प्रेस संगठनका वाग्मती प्रदेश इन्चार्ज विश्वमणि सुवेदीले पत्रकार महासंघको आगामी नेतृत्व चयनको विषयमा कुरा गर्दै सहमतिका साथमा अगाडी बढ्नु पर्ने बताए । कार्यक्रममा प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले प्रधानमन्त्री केपी शर्मा ओली प्रेस मैत्री नदेखिएको भन्दै सरकार उदासिन रहेको बताए । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्यहरु कृष्ण गिरी र सृजना अर्याल ,वाग्मती प्रदेशका अध्यक्ष प्रताप विष्ट र वाग्मती प्रदेश प्रेस रजिस्टार कार्यालय प्रमुख रेवती सापकोटा , महासंघका केन्द्रीय सदस्य पुरुशोत्तम सुवेदी, प्रेस संगठन चितवनका अध्यक्ष प्रकाशमणि ज्ञवाली, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाइँ, पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा अध्यक्ष मोतिराम तिमिल्सिना लगायतले शुभकामना मन्तव्य दिएका थिए । साधारण सभामा चितवनका १३ जना पत्रकारलाई विभिन्न बिधामा पुरस्कृत गरिएको थियो ।साधारण सभाको अवसरमा पत्रकार महासंघ चितवनको स्मारिकाको पनि विमोचन गरिएको छ । साधारण सभाले महासंघ चितवन शाखाका सचिव तीर्थ नेपालले पेस गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रकाशमणि ज्ञवालीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको छ । पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा भएको साधारण सभाले ११ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको हो ।