होमपेजचितवन विशेषअब देशका सबै पालिकाहरुमा अस्पताल निर्माण हुने : स्वास्थ्य मन्त्री ढकाल

अब देशका सबै पालिकाहरुमा अस्पताल निर्माण हुने : स्वास्थ्य मन्त्री ढकाल

चितवन, मंसिर १५- स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब देशका सबै पालिकाहरुमा अस्पताल निर्माण हुने बताएका छ्न । आज चितवनको भरतपुर स्थित भरतपुर अस्पतालको आकस्मिक भवन र सरुवा रोग सेवा भवनको शिलान्यास कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन । उनले आज एकैसाथ देशभर ३९६ स्थानीय तहमा अस्पताल निर्माणको शिलान्यास भएको बताउदै अब कुनै पनि नागारिकले उपचार नपाएर बस्नु पर्ने अबस्था नआउने बताए । मन्त्री ढकालले गरिब र विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले काम गरिरहेको र कोरोना पछि झन गतिलो पाठ सिक्ने अबसर पाएको बताए । मन्त्री ढकालले बिगतको स्वास्थ्य अबस्था दर्शाउदै कोरोना पछि अहिले देशभर ७६ वटा ल्याब स्थापना भइसकेको जानकारी दिदै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मान्यता दिनासाथ नेपालमा कोरोनाको भ्याक्सिन ल्याउने तयारी गरिरहेको बताए । उनले नेपालमा भएको स्रोतसाधन र क्षमता अनुसार नै कोरोना विरुद्धको अभियानमा लडेको बताउदै कोरोना विरुद्धको लडाइमा नागरिकले सरकारलाई साथ दिएको बताए । एक अर्को प्रसङमा मन्त्री ढकालले प्रशस्त जग्गा भएर पनि भरतपुर अस्पताल धनी बाबुको गरिब छोरो जस्तो भएको बताउदै अस्पतालको जमिन फिर्ता ल्याउन पहल गर्ने बताए । उनले अहिले पार्टी भित्र देखिएको समस्या घरको सल्लाह जस्तै रहेको बताउदै ठूलो घरको सल्लाहमा केही हल्ला बढी आएको बताए । शिलान्यास कार्यक्रममा सांसद कृष्णभक्त पोखरेल, बागमती प्रदेश सभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, विभिन्न राजनीतिक पार्टीका प्रमुख लगायत स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो । अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले संचालन गरेको कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

ताजा समाचार