चितवन, मंसिर १२– चितवनको भरतपुर स्थित भरतपुर अस्पतालमा आज एकै दिन थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु भएका एक जना चितवनका हुन भने अर्का मकवानपुरका रहेका छ्न ।
भरतपुर अस्पतालमा उपचाररत भरतपुर वार्ड नम्बर १७ का ५७ वर्षीय पुरुषको आज विहान ५ः१५ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई निमोनियाको समस्या भएपछि मंसिर ३ गते कोरोना परीक्षण गरिएकोमा अर्को दिन कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मंसिर ५ गते अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई कोभिड आइसीयूमा राखेर उपचार थालिएकोमा आज बिहान मृत्यु भएको हो । त्यसैगरी भरतपुर अस्पतालमै उपचाररत मकवानपुरको हेटौंडा–१० की ५७ वर्षीया कोरोना संक्रमित महिलाको पनि आज नै मृत्यु भएको छ । बिहीवार हिजो कोरोना संक्रमण सहित अस्पताल भर्ना गरिएकी ती महिलाको आज विहान ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए । उनलाइ मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भए पछि कोभिड आइसीयूमा राखेर उपचार थालिएको थियो ।