वीरगंज , मंसिर २ – वीरगंज लगायत मध्यतराईका वारा, पर्सा, रौतहट जिल्लाहरुमा धार्मिक एवं लोक आस्थाको पर्व छठको तयारी उत्साहका साथ शुरु भएको छ ।यमपञ्चक पर्व सम्पन्न हुनासाथ तराईमा यतिखेर छठ पर्व मनाउनका लागि आवश्यक सरसामग्रीको किनमेलमा सर्वसाधारण जुटेका छन् ।विगतमा वीरगंज लगायत मध्यतराईमा उत्साहका साथ विशिष्ट ढङ्गले छठ पर्व मनाउने गरिएको भएपनि यस वर्ष कोरोना सङ्क्रमणका कारण समस्या देखिएको छ । तर पनि छठ विधिवत् रुपमा मनाउने कार्यका लागि चहलपहल शुरु भइसकेको छ ।यतिखेर वीरगंज लगायत पर्साको ग्रामीण क्षेत्रलगायत विभिन्न ठाउँमा छठ मनाउनका लागि पोखरी, ताल तलाउ, नदी किनारको सरसफाइ शुरु भइसकेको छ । कोरोना सङ्क्रमण जोखिमका विचमै पर्वको तयारी भव्य रुपमा भई रहेको छ ।छठको आवश्यक पर्ने सामग्रीहरुको जोहो र किनमेल गर्न आज विहानै देखि वीरगंज लगायत वारा, पर्सा, रौतहटका बजारहरुमा स्थानिय उपभोक्ताहरुको भिड रहेको छ ।वीरगन्ज लगायत पर्साको पोखरिया, विन्दवासनी, महुवन, बाराको कलैया, जितपुर, रौतहटको गौर, चन्द्रनिगाहपुर लगायत शहरी तथा ग्रामिण भेगका बजारहरुमा किनमेल गर्न व्रतालुहरुको कोरोना संक्रमणकै विच पनि घुंइचो लागेको छ ।व्रतालुहरुले बाँसका डाला, नाङ्गलो, ढकिया, कनसुप्ती र माटोको सामग्री लगायतका छठ पर्वमा आवश्यक पर्ने नरिवल, सख्खर किनमेल गर्न बजारमा निस्किएका छन् ।विगतमा जस्तो भिडभाडका साथ पर्व मनाउन सर्वसाधारण नजुटेपछि तयारी भने भव्य रुपमा भई रहेको छ ।कार्तिक महिनाको शुक्ल चर्तुर्थीको दिनदेखि शुरु भई चार दिनसम्म मनाइने छठपर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा छठ समापन हुन्छ भनी मान्यता छ ।विशेष गरी तराई मधेशमा मधेशी समुदायले मनाइँदै आएको छठ पर्व केही वर्ष यतादेखि पहाडी समुदाय र मुस्लिम समुदायले समेत मनाउने क्रम बढेपछि यो पर्व लोकप्रिय हुँदै गएको छ ।छठ ब्रत्त गर्नाले पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा हुने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ । अत्यन्तै निष्ठाका साथ मनाईने छठ पर्व एक मात्र जिवित भगवानको रुपमा रहेको सुर्यलाई आराधना गरि मनाईने भएको हुँदा यस पर्वको महत्व दिन प्रति दिन बढदै गएको छ । फोटो : फाइल
– रेडियो नेपाल