होमपेजताजा समाचारनेकपाको एकीकृत अस्तित्व संकटमा : महासचिव पौडेल

नेकपाको एकीकृत अस्तित्व संकटमा : महासचिव पौडेल

काठमाडौँ, कार्तिक १६ – नेकपा महासचिव विष्णु पौडेलले पार्टी फूटतर्फउन्मुख भएको बताएका छन् । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो मतभेद सतहमा आएकै बेला महासचिव पौडेलले नेकपाको एकीकृत अस्तित्व गम्भीर संकटमा परेको बताएका हुन् ।

केही दिन अगाडि दुवै अध्यक्षको सहमतिमा अर्थमन्त्रीको समेत जिम्मा पाएका महासचिव पौडेलले आइतबार दिउँसो ट्वीटमार्फत एकताका लागि योगदन गर्नसमेत सबैसँग आग्रह गरेका छन् ।

‘यतिबेला नेकपाको एकीकृत र अभिभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता तथा सदस्यहरु समक्ष अनुरोध गर्दछु’ महासचिव पौडेलको ट्वीटमा छ ।

दुई अध्यक्ष ओली र दाहालबीच ११ दिनपछि शनिबार भेट भए पनि पार्टी सचिवालय बैठक बोलाउने विषयमा सहमति जुटन सकेको थिएन । योसँगै उनीहरुबीचको विवाद थप बढेको आंशका भैरहँदा महासचिव पौडेलले पार्टी एकतामा संकट आएको बताएका हुन् ।

गत भदौ २६ को स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन, मन्त्रिपरिषद् हेरफेर, कर्णाली प्रदेशको पार्टी विवाद र भारतीय गुप्तचर रअका प्रमुखको अचानक भएको नेपाल भ्रमणले ओली र दाहालबीच विवाद बढाइदिएको छ ।

आइतबार नै कर्णाली प्रदेशमा मन्त्रिपरिषद् हेरफेरको तयारी भए पनि अन्तिम समयमा रोकिएको छ । पछिल्लो विवादलाई लिएर प्रधानमन्त्री ओलीले आइतबार बिहान निकट नेताहरुसँगसमेत बालुवाटारमा परामर्श गरेका थिए । – ई कान्तिपुर

ताजा समाचार