होमपेजचितवन विशेषमाडीमा रामचरित मानसको पाठपारायण बारेमा पत्रकार सम्मेलन

माडीमा रामचरित मानसको पाठपारायण बारेमा पत्रकार सम्मेलन

चितवन , कार्तिक १४ – चितवनको माडी नगरपालिकाको अयोध्यापुरीमा ‘रामचरित मानस’को सामूहिक पाठपारायणको तयारीका विषयमा आज पत्रकार सम्मेलन सम्पन भएको छ । माडी नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा नेपाली भाषामा अनुवादित सो पुस्तकको सुन्दर काण्डको पारायण बारेमा जानकारी दिन र तयारीका विषयमा पत्रकार सम्मेलनको आयोजना गरिएको हो । सोह्रौँ शताब्दीमा गोस्वामी तुल्सीदासद्वारा अवधी भाषामा लिखित सो पुस्तक तुल्सीराम शर्माले नेपालीमा अनुवाद गरेपछि नेपालसँगै विश्वका धेरै देशमा यसको पारायण थालिएको बताइएको थियो । सो पुस्तकका सात काण्डमध्ये सुन्दर काण्ड चर्चित छ । पुस्तकमा रामको बाल्यकालदेखिका जीवनका सबै घटनाक्रम उल्लेख गरिएको छ ।
यहि कात्तिक १८ गते मंगलबारका दिनमा गरिन लागेको पाठ्पारायणको तयारीका विषयमा भएको पत्रकार सम्मेलनमा
माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकाल प्रमुख आतिथि रहेका थिए । पत्रकार सम्मेलन माडी नगरपालिकाका प्रवक्ता शिवहरि सुबेदीको अध्यक्षतामा सम्पन्न भएको हो । अयोध्यापुरीमा अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति माडी र श्रीरामजानकी अनुसन्धान एवम् अध्ययनमण्डल अमेरिकाको संयुक्त आयोजनामा सामूहिक पारायण गर्न लागिएको हो । केही महिना पहिले भानु जयन्तीका अबसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले माडीको अयोध्यापुरी क्षेत्रमा रामको जन्म भएको बताए पछि माडी नगरपालिकाले खोजी तथा आवश्यक अध्ययन अनुसन्धान गरिरहेको छ । सो क्षेत्रमा एक सय बिघा जग्गा छुट्याएर मन्दिरलगायत धार्मिक संरचना निर्माणको प्रक्रिया पनि अघि बढाइएको छ भने माडीका केही स्थानियबासीहरुले निशुल्क जमिन दिने घोषणा समेत गरि सकेका छ्न ।

ताजा समाचार