होमपेजचितवन विशेषकोरोना संक्रमणका कारण एकै दिन चितवनमा ३ जनाको मृत्यु

कोरोना संक्रमणका कारण एकै दिन चितवनमा ३ जनाको मृत्यु

चितवन, कार्तिक १– कोरोना भाइरसका कारण चितवनमा आज शनिबार एकैदिन तीन जनाको मृत्यु भएको छ । मृतक मध्ये दुई जना चितवनका र एक जना रौतहटका रहेका छन् । भरतपुर अस्पतालमा आज बिहान एक जना जनप्रतिनिधिको निधन भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ का वडा सदस्य कोरोना संक्रमित ४१ वर्षीय बद्रीबहादुर पाण्डेको निधन भएको हो । असोज ३० गते खोकी र श्वासप्रश्वासमा समस्या भई उनलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई असोज २८ गते संक्रमण पुष्टि भएको थियो । भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै उनको विहान १ः४५ बजे मृत्यु भएको हो । यसैगरी चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका–६ कै ६८ वर्षीया संक्रमित महिलाको पनि आज विहान मृत्यु भएको छ । कोभिड आइसीयूमा उपचाररत ती महिलाको विहान मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले बताए । असोज २४ गते ज्वरो, खोकी र निमोनिया भई ती महिला अस्पताल भर्ना गरिएको थियो । उनलाइ केही दिन अगाडी कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैगरी भरतपुर अस्पतालमा उपचाररत रौतहटको माधवनारायण–७ की ७० वर्षीया महिलाको आज विहान ९ः२५ बजेको समयमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । असोज २८ गते संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेकी थिइन् । असोज २९ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई ती महिला आइसोलेसनमा भर्ना गरिएको थियो ।

ताजा समाचार