होमपेजताजा समाचारदुई महिनामै ३५ करोड बढी स्यानिटाइजर र किटाणुनाशक औषधि भित्रियो

दुई महिनामै ३५ करोड बढी स्यानिटाइजर र किटाणुनाशक औषधि भित्रियो

काठमाडौं, असोज १८ – आर्थिक वर्ष २०७७/०७८ को दुई महिना, साउन र भदौमा ३५ करोड रुपैयाँ  बढीकाे स्यानिटाइजर  र किटाणुनाशक औषधि भित्रिएको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार  यो दुई महिना (साउन र भदौ) मा ३५ करोड ३ लाख ९४ हजारको  स्यानिटाइजर र किटाणुनाशक औषधि भित्रिएको हो।  यी औषधि आयातबाट सरकारले ६ करोड ६२ लाख ३५ हजार राजश्व संकलन गरेको छ।

आर्थिक वर्ष ०७६/०७७ को साउन र भदौ महिनामा यस्ता औषधि ८ करोड ५९ लाख ८६ हजार मात्र आयात भएको थियो।

विदेशबाट स्यानिटाइजर लगायतका औषधि ल्याउन दिएर सरकारले आफै व्यापार घाटा बढाएको औषधि उत्पादक सघंका निवर्तमान अध्यक्ष दिपक दाहालले बताए।

‘भारत र चीनबाट ल्याइएका स्यानिटाइजरमा विषाक्त पदार्थ भेटिएको छ। नेपालमै औषधि कम्पनी बाहेक अन्यले बनाएको स्यानिटाइजरमा पनि यो समस्या देखिएको छ,’ उनले भने ‘ पहिले अभाव हुँदा आयात भएपनि अब चाहिँ सरकारले आयातलाई रोकेर नेपाली कम्पनीलाई प्रोत्साहन गर्नुपर्छ।’ नेपाली औषधि कम्पनीहरु आफै स्यानिटाइजर बनाउन सक्ने अवस्थामा रहेको उनको तर्क छ।  ‘हामी सुपथ मूल्यमा गुणस्तरीय स्यानिटाइजर बनाउन सक्ने अवस्थामा छौं। स्वदेशमै उत्पादन गर्न सकिने वस्तुमा किन व्यापार घाटा सहने’, उनले  भने। -सेतो पार्टी

ताजा समाचार