होमपेजताजा समाचारअयोध्या प्रसङ्ग: अवसर र चुनाैती

अयोध्या प्रसङ्ग: अवसर र चुनाैती

भगवान रामको जन्म माडीको अयोध्यापुरी क्षेत्रमा भएको हुनसक्ने अभिव्यक्ति सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले दिएपछि त्यसका बारेमा माडीमा मात्र होईन, देशैभर अनि छिमेकी देश भारतमा पनि विभिन्न बहसहरु भएका छन् । धेरै नेपालीहरुले यसलाई अवसरको रुपमा लिएर अनुसन्धानलाई अगाडि बढाउनुपर्ने सल्लाह दिएका छन् भने केहीले फरक मत पनि राखेका छन् । माडीमा पनि विभिन्न बहसहरु चलेका छन । यथार्थमा भन्नुपर्दा यो विषयले माडीमा अवसर र चुनाैती एकैसाथ हाम्रा सामु खडा गरेको छ । अवसर र चुनाैतीको सामना गर्दै अगाडि बढ्नु माडीको आवश्यकता हो । यसलाइ सहज र सरल तरिकाले सामना गर्न नसके अवसरबाट बञ्चित हुन्छौं । भावि पुस्ताले पनि राम्रोसँग मूल्याङ्कन गर्नेछन् ।

सम्माननीय प्रधानमन्त्रीले रामको जन्मभूमि माडी हो भनेर बोल्नु माडी बिकासको ढोका खोल्ने ठुलो अवसर हो । महत्वपूर्ण कुरा केहो भने यहाँको विकास भन्नुनै पर्यटन हो।पर्यटनमा पर्यापर्यटन,कृषि पर्यटन , धार्मिक पर्यटन नै हाम्रो मुख्य आधार हुन । तिनै वटाका पुर्बाधार तयार छन।त्यसको जगेर्ना र ब्यबस्थापन गर्नु हाम्रो तत्कालीन दायित्व र आवश्यकता हो । पर्यापर्यटन र कृषि पर्यटनको विकास गर्ने विषयमा निर्विवाद भएपनि धार्मिक पर्यटनको विषयमा एकरुपता आउनु पर्ने देखिन्छ।

यो एउटा अभूतपुर्व सुनौलो अवसर हो यसलाई समात्न नसके सदाका लागि बिदा भएर जानेछ।अनि हाम्रा हातमा केबल निर्मम इतिहास र क्रुर समिक्षा मात्र रहनेछ।अनि रहनेछ फगत राजनीतिका लागि खोक्रो राजनीति । राजनीति राजनीतिका लागि मात्र हैन विकासका लागि हो। यसलाई नजर अन्दाज गरेर किनारमा बसेर बल्छी खेल्ने अनि बल्छीमा माछा पारेर फुर्लुङ्गमा राख्न नपाए बल्छी गलत भन्नु कति तार्किक हुन सक्ला ?

हामी सबैका चेतना अनुसार दर्शन, सिद्धान्त , राजनैतिक बिचार छँदैछन। हाम्रा राजनीतिक दलहरूले समयक्रममा पुर्ववत अडानलाई थाती राख्दै आजको धरातलमा पाइला टेकेका हुन। यसलाइ हामीले गहिरो गरी बुझ्न वान्छनीय छ । विकास गर्ने अवसर आएको समयमा अनावश्यक विवाद गरेर बस्नु माडी विकासमा अवरोध हो भन्ने मलाई लाग्छ ।

माडीको ६० हजार जनसंख्या आज यथार्थमा ३० हजारमा किन झर्‍यो ? यसको कारण के होला ? हामी माडीमा नेतृत्व गर्नेहरुले यसमा कति ध्यान पुर्यायौं । माडीमा राजनीतिक गर्ने अनि आफै माडीबाट बाहिर जान खोज्दा के कस्ता समस्या उत्पन्न हुन्छन् ? यस विषयमा गम्भीर भएर सोच्न जरुरी छ । मेरो आशय माडीबाट पलायन हुनेको सङ्ख्या किन बढिरहेको छ । यसलाइ रोक्नुपर्छ । यसलाइ रोक्न पर्यटनको विकास गर्नैपर्छ । त्यसका लागि अबसरको रुपमा आएको अयोध्याधामलाई स्वागत गर्नुपर्छ ।

अयोध्याको सन्दर्भ आइरहँदा बर्षौंदेखि समाधान हुन नसकेको सुकुम्बासी बस्तीको ब्यबस्थापन गर्नु हाम्रो पहिलो प्राथमिकता र चुनाैती पनि हो । यसको लागि केन्द्र सरकारले तय गर्ने नीतिको आधारमा हामीले कार्यक्रम बनाउने र मुलत केन्द्रिय सरकारलाई सहयोग गर्नु हाम्रो कर्तव्य हुनेछ । तत्कालका लागि समग्र सुकुम्बासीको तथ्यांक लिने सहजीकरण गर्ने र बिस्थापित कुसुममखोलाका चेपाङका घर बनाउन पहल गर्नुपर्ने हुन्छ।जुन कुराको पहल माडी नगर पालिका र नेकपा(नेकपा) माडी नगर कमीटीले गरेकै छ र गरी रहन्छ । यसका साथै रिउ करिडोरको विषय र निकुञ्जले माडीलाई पारेका समस्या हरुलाई पनि प्याकेजमै अगाडि बढाउनुपर्छ ।

कुरा उठ्ने गरेको छ, चेपाङ्ग बस्ति र पर्यटन विकास कुन पहिला ? यी विषय एक आपसमा तुलना गर्ने विषय नै होइनन्। दुबैसँगै जानुपर्छ । दुबै कुरा सरकारको कार्यसुची भित्रका विषय हुन। तथापि यी दुइ विषयको कार्यान्वयन सरकारका दुइ निकायले गर्ने हो। हाम्रो भूमिका सरकारलाइ सहजीकरण गर्ने हो । हाम्रो प्रतिनिधित्व नगरपालिकाले गर्दछ, गरी रहेकै छ । हामीले पनि सहजीकरण गर्नेहो गर्दछौं । सम्बन्धित निकायले आफ्नो जिम्मेवारी पुरा गर्न चुक्नु हुंदैन। छिटो भन्दा छिटो पहलकदमी लिनुपर्छ।


अर्को कुरा जहाँसम्म कोरोना कन्ट्रोल नभए अरु केहि गर्नुहुन्न वा सुकुम्बासी समस्या समाधान नभए अरु केहि गर्नुहुन्न भने सोचाइ नै विकास विरोधी सोचाइ हो । मेरो प्रश्न छ । कोरोनाको आयु कहिले सम्मछ?अर्थात कति बाँच्छ?अनि सुकुम्बासी समस्या समाधान कहिले होला? यदि यसलाइ कुरेर बस्ने हो भने स्कुल बनाउन रोकौं।बाटो पुल बनाउन रोकौं।तटबन्धन गर्न रोकौं।बिहेबारी रोकौं।के यी सब सम्भावना छ रोक्न?नत्र अयोध्या प्रसङ्ग मात्रै किन रोक्ने ?
रोक्नु हुँदैन , बिकासका सबै अबसरलाइ खुला रुपमा अगाडि जान दिनुपर्छ । पर्यटनको बिकासलाइ अगाडि बढाउनुपर्छ । यहांँ बहसको विषय छ कसलाइ प्राथमिकता भन्नेको।कोरोना रोगहो र आकस्मिक हो यसबाट मुक्ति पाउनु भनेको जिउनु हो जिउनैपर्छ। बिबाद रहेन।

कोरोना कहरले माडीको जनजीवन अस्तब्यस्त हुने सङ्केत देखिंदैछ। नगर पालिकाले भरपुर प्रयत्न गर्दागर्दै हाम्रै बेहोसीका कारण कोरोना समुदायमा पनि फैलिदै गएको छ । हामी लापरबाही गर्ने अनि सरकारले केही गरेन भनेर धारेहात लगाउने प्रवृत्ति नसच्चिने हो भने माडीमा थप सङ्कट आउन सक्छ।त्यसकारण नियमनकारी निकायको कडा निगरानी र हामी पुर्ण सचेत हुनुपर्छ ।

अन्तमा चेपाङ बस्तीको घर निर्माणकार्यलाइ अबरोध पुर्‍याउने बेनामी उजुरीलाइ खारेज गरौं र घर निर्माणका लागि पहल गरौं । साथै सुकुम्बासी समस्या समाधानका लागि देवी ज्ञवाली ‌नेतृत्वको आयोगलाइ काम गर्ने वातावरण तयार गरौं। निकुञ्ज र रिउ करिडोरको विषय सँगसँगै अगाडि बढाऔं । अयोध्याको विषय माडी विकासको कोशेढुंगा हो भन्ने बुझेर एकताबद्ध भएर अगाडि बढौं ।

(लेखक अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक हुन्न )

ताजा समाचार