चितवन, भदौं १२– कोरोना संक्रमणका कारण भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचाररत एक जना महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ की ७१ वर्षीया महिलाको आज शुक्रबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।निमोनिया र दम लगायतको समस्या रहेको ती बिरामी महिलालाई यही भदौं ७ गते श्वासप्रश्वासको समस्या भइ जटिल अवस्थामा चितवन मेडिकल कलेज ल्याइएको थियो । सोही बेला कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको अस्पतालको भनाइ छ । उनलाई अस्पतालको सघन कक्षमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सो अस्पतालमा अहिले ४० जना संक्रमितको उपचार भइरहेकोमा २० जना संक्रमितको गम्भिर अवस्थामा आइसीयू कक्षमा उपचार भइरहेको जनाइएको छ । जसमध्ये तीन जनालाई भेन्टिलेटरको सहायतामा उपचार भइरहेको अस्पतालले जनाएको छ ।