होमपेजविचार/ब्लगतिज : संस्कृती , परम्परा र मिलनको चार्ड

तिज : संस्कृती , परम्परा र मिलनको चार्ड

यसपाली गत वर्षका तिजहरुमा जस्तो उल्लास देखिएको छैन। कारण कोरोना भाईरस अर्थात् कोभिड नाईन्टिन। एउटा सानो भाइरसले विश्वलाई त्रसित बनाएको छ। जति सुक्ष्म त्यति नै वृहत् भन्ने, यो भन्दा ठुलो अर्को प्रमाण हुनैसक्दैन। महिना दिनदेखि नै दर खाने कार्यक्रममा व्यस्त हुने पार्टी प्यालेस यो वर्ष भने सुनसान देखिन्छ। सामाजिक गतिविधिमा मौन भएपनि, तिजका गीतहरू भने बजारमा छरपस्टै छ्यापछ्याप्ती आई सकेको छ। कुनै गीत त विवादमा पनि परे। नेपाली बजारमा गीतहरू विवादमा पर्नु नौलो कुरा होइन। यो पुरानो चलन हो। सनातन धर्म ९० हजार वर्षभन्दा पहिले नै प्रारम्भ भएको भन्ने मान्यता रहि आएको छ। तिजको सुरुवात यही समयदेखि भएको भन्ने यकिन तथ्य मिति नै निर्धारण त गर्न सकिँदैन। तरपनि तिज भारत वर्ष विशेष गरी उत्तर भारत र नेपालमा पौराणिक कालदेखि नै चलिआएको भनेर बुझ्न सकिन्छ।

हिन्दु धर्मावलम्बी महिलाहरूको लागि हरितालिका तिज महान् चाड नै हो ।यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। नेपाली समाजमा यो पर्वको मौलिक स्वरूप विकास भएको हुनाले, तिज विशेष गरी भारतभन्दा पनि बढी नेपालमै चलेको पर्व हो। तिज पर्व नेपालमा बढी मात्रमा चलेको भएपनी भारत वर्षका बिभिन्न स्थानहरूमा मनाईने गरिन्छ।यस पर्बलाई हरियाली तिज, काजरी तिज, केभाडा तिज, अखा तिज, काजल तिज, तीजरी तिज आदि नामबाट समेत मनाईने प्रचलन रहि आएको छ। कतै कतै बैशाख तथा श्रावण महिनामा पनि मनाउने प्रचलन रहेको छ ।

समग्रमा तीजको मूल्य, मान्यता र महत्त्व भने समान नै भेटिन्छ। विषेश त नेपाली समूदायले बिदेशमा पनि महत्त्वपूर्ण पर्वको रूपमा तिजलाई मनाउंदै आएको पाईन्छ।एक किसिमले यो पर्व नेपालीहरूको साँस्कृतिक पहिचानको रूपमा नै बिदेशमा पनि परिचित भई सकेको पाईन्छ। सनातन धर्मको, धार्मिक कथन अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा। एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार वर्त बस्न बसिन्। यसरी पार्वतीको कठोर वर्तको कारण शिवजी प्रकट भई ’चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि, शिवपार्वतीको विवाह हुन पुग्यो।

साथै आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले, पति शिवको स्वास्थ्य तथा शरीरमा कुनै पनि प्रकारको वाधा उत्पन्न नहोस् भनेर पहिलो वर्त राखेकी थिइन्। त्यो दिन यही हरितालिका तिजको दिन थियो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि हिन्दू महिलाहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले। त्यसै समयदेखि यो तीजको रूपमा मनाउने प्रचलन रहिआएको भन्ने विश्वास गरिन्छ। हिमालयकी पुत्री पार्वतीले, महिला जातीले आफ्नो अनुकूलको सुयोग्य वर छान्न पाउने जन्मसिद्ध नैसर्गिक अधिकार हो, भन्ने विचारलाई ब्यबहारीक रूपमै स्थापित गराउन तपस्या (सत्याग्रह) गरेर, आफु अनुकूल वर छानी ब्यबहारीक सन्देश दिन खोजिएको भन्ने कतिपय महिलाहरुको धारण रहेको छ।

बदलिँदो समयसंगै, नेपाली समाजमा पश्चिमी सभ्यताको प्रभाव प्रचुर मात्रामा बढ्दै गएको छ। हाम्रो भाषा, संस्कृती, चाडपर्व, रितिरिवाज र रहनसहनमा समेत यसले प्रत्यक्ष रुपमा नकारात्मक असर पारेको प्रष्टै देख्न सकिन्छ। तिज पर्ब पनि बदलिँदो समयसंगै परिबर्तन हुदै आएको छ र समय अनुकूल मूलभूत यथार्थ, मूल्य र मान्यतामा आँच नआउने गरि परिबर्तन हुन आवश्यक पनि छ। केही अघिल्लो पुस्ताहरुमा, तिजले, विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराउथ्यो। बर्खा मासमा बालीनाली रोपिसकेपछि केही फुर्सदिलो समयमा मनाइने पर्व भएकोले माइतीबाट बाबु वा दाजुभाइ गएर छोरीचेलीलाई भेट्ने र सकेसम्म माइती लिएर फर्कने प्रचलन थियो। र छ पनि। माइती चेलीको आपसी सम्बन्धलाई मजबुत गराउने। आपसी प्रेम बढाउने यो पर्वले महिलाहरूको दुखेसो पोख्ने वातावरण सिर्जना गरिदिन्थ्यो। तिज घरमा सासु, नन्दअमाजुले दिएको दुःखहरुलाई सँगालेर राखेर, माईतिमा आमादिदिबहिनी र संगीसाथीहरु भेट हुँदा मनको बह पोख्ने माध्यम थियो। यो पर्वले उनीहरूको मन हलुका पार्न र सुख–दुःखका कुराकानी गर्ने अवसर समेत प्रदान गर्छ।

विगत केही वर्ष यता तिज जस्तो पर्वमा पनि विकराल रुपमा विकृति फैलिन सुरु भैसकेको छ। विशेष गरि तिज नेपाली हिन्दू विवाहित महिलाहरूले स्वतन्त्रताको अनुभुती गर्दै मनाइने चाडको रुपमा लिईन्छ। पछिल्लो समय तिज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउने प्रचलन बढ्दै गएको छ। वर्तमान अवस्थासम्म आईपुग्दा नेपाली सबै महिलाहरुको परिवारिक आर्थिक हैसियत एकैप्रकारको छैन, एउटै समुदाय, धर्म, जात, वर्गका पनि छैनन। र पनि टोलटोल, चोकचोकमा विभिन्न समूहहरु बनाएर एक महिना अघिदेखि नै नाचगान र दर खाने कार्यक्रम संचालन गरिएको प्रशस्तै देख्न सकिन्छ। कतिपय संघसंस्थाले तिज गीत प्रतियोगिता पनि आयोजना गर्ने गर्छन् । हिजो माईती घर, ब्रत, पूजा, पधेरो,चौंतारो अनि मन्दिरहरूमा सिमीत हुने पर्व आज शहर, बजार, बस्ती, ब्यवसाय, बिद्युतीय सञ्चार माध्यमहरू, सामाजिक सञ्जालहरू लगायत हुदै ब्यापकता लिएको छ। यो सकारात्मक पक्ष पनि हो।

तर अहिले सहरी क्षेत्रमा मात्र होइन पछिल्लो समय गाउँघरतिर पनि तिजमा मा विकृति बढेको छ। एक महिनाअघिदेखि दर खाने, गरगहना र कपडा प्रदर्शन गने चलन पढेको पाईन्छ। यसले तीजको खास अर्थ र महत्वलाई मारेको मात्र छैन, संस्कार र संस्कृतियुक्त तीजलाई भड्किलो र उत्ताउलो बनाउँदै लगेको छ । यद्यपि तीजको संस्कृति अन्य जात वा समुदायका महिलामा पनि प्रवेश गर्नु राम्रो कुरा हो। यो वर्ष तिजमा भन्दा बढी आफ्नो र परिवारको स्वास्थ्यमा ख्याल राखौ। कोरोनाको महामारीले विश्व नै त्रसित भैरहेको अवस्थामा तिजलाई जमघट गरेर मनाउनु पर्ने आवश्यकता छैन। तिज त अर्को वर्ष पनि फर्केर आउँछ। परिवारको सदस्य अथवा आफ्नै जीवन एकपटक संसारबाट बिदा भएपछि फर्किदैन।

अन्तमा, विकृति फैलिदै गरेको, तिज मनाउने शैलीमा परिवर्तन ल्याउन अत्यन्तै जरुरी छ। आर्थिक रुपमा पछि परेको महिलाहरूलाई समेत उत्साह प्रदान गर्ने तरिकाबाट तिज मनाउनुपर्छ। सबै वर्ग र समुदायको महिलामा उत्साह ल्याउनलाई त तिज भड्किलो पाराले मनाउनु हुँदै हुँदैन। तिजलाई तिजकै रुपमा लिउ कपडा र गहनाको प्रतिस्पर्धाको रुपमा होइन। प्रतिस्पर्धा नै गर्नु छ भने विचार, ज्ञानसीप दक्षता र क्षमतामा प्रतिस्पर्धा गरौँ । तिजमा कसैको देखासिकी गर्न खोजेर रहरहरु, कहरहरुमा परिणत नहोस्।

-न्युशा राई “आश्मा“

ताजा समाचार