होमपेजविचार/ब्लग‘व्रत म पनि बस्छु, तर राताे सारी र चुरा लगाउन पाउँदिन’

‘व्रत म पनि बस्छु, तर राताे सारी र चुरा लगाउन पाउँदिन’

दर खाने दिन, अपराह्न ४ बजेतिर हल्का पानी परिरहेकाे छ। निषेधाज्ञाका कारण शून्यप्राय: लाजिम्पाट सडकमा ट्राफिक प्रहरीकाे वर्दी, टाेपी अनि फेस शिल्डमा भेटिइन् ट्राफिक प्रहरी पुष्पा जीसी।

अधिकांश हिन्दू दिदीबहिनीहरु बेलुकाकाे दरका लागि घरघरमा तयारी गरिरहँदा सुर्खेत घर भएर २०७३ सालमा ट्राफिक प्रहरीमा भर्ना भएकी पुष्पा सँगै ड्युटीमा रहेका सशस्त्र प्रहरीका दुई पुरुष सहकर्मीसरह उत्तिकै कर्तव्यनिष्ठ हिसाबले सडकमा ड्युटीमा खटिएकी थिइन्। तीजकाे माहाेलमा ड्युटी गरिरहँदा उनकाे अनुहारमा कुनै ग्लानि भाव थिएन।

निषेधाज्ञाका बीच ड्युटी र तीजकाे माहाेल दुवैलाई जाेडेर कुरा गर्ने अनुमति पाएपछि हामीले साेध्याैँ, ‘तीजकाे बेला अन्य दिदीबहिनीहरु दर र रमाइलाेकाे तयारीमा जुटिरहँदा तपाइँ यसरी ड्युटीमा खटिनुपरेकाे छ, कस्ताे लागिरहेछ?’

उनले नीर्भीक स्वरमा जवाफ दिइन्,’म राष्ट्रसेवक कर्मचारी हुँ, चाडबाड भन्दा पनि हामीले सुरक्षा व्यवस्थामा ध्यान दिनु पर्छ। लकडाउन नभएकाे भए पनि हामीले छुट्टी पाउँदैनथ्याैं। आफ्नै रहरमा राेजेकाे पेशा भएकाेले छुट्टी नपाउँदा पनि म खुसी नै छु। हामी नै छुट्टी बसे तीज मनाउने सर्वसाधारण दिदीबहिनीकाे सुरक्षा कसले गर्छ?’

‘अनि तीज मनाउन रहर लाग्दैन?’ हाम्राे प्रश्न खस्न नपाउँदै उनी बाेलिन्, ‘रहर त लाग्छ नि, त्यही माहाेलमा हुर्के बढेकाे हुनाले दर खाने, व्रत बस्ने अनि राताे सारी र चुरा लगाएर छमछम नाच्ने रहर त किन नलाग्नु, तर राष्ट्रसेवा गर्ने अठाेट लिएर जागिर खाएकाे छु, यति बेला मलाई नारी भन्दा पनि राष्ट्रसेवक कर्मचारी हुँ भन्ने भावनाले जित्छ र ड्युटीमा खटिन्छु।’

हाम्रा प्रत्येक प्रश्नकाे जवाफ सटिक हिसाबले सरर दिँदै थिइन् उनी।

प्रहरीलाई के दशैं कुन तिहार भने झैं महिला दिदीबहिनीहरुले नाचगान र रमाइलाे गर्दा व्यवस्थापन गर्नुपर्ने भएकाले त्यही हेरेर नै रमाउने गरेकाे उनले सुनाइन्। ‘प्रहरी सेवामा जागिर खाएपछि दशैं तिहार तीज केही भन्न मिल्दैन। सामान्य अवस्थामा बिदा मिल्याे भने सबै सरह तीज र अन्य चाड मनाउन पाइन्छ। मनभित्र त तिनै दिदीबहिनी सँगै गएर छमछम नाचाैँ जस्ताे चाहिँ पक्कै लाग्छ।’

‘दरकाे कार्यक्रम के कसाे छ?’ हामीले साेध्याैँ।

‘अघिल्ला वर्षहरुमा दर खाने दिन अफिसमा बिदा पाइन्थ्याे। हाम्रा सिनियर सरहरुले नै हाम्रा लागि तीज विशेष कार्यक्रम राखिदिनुहुन्थ्याे। तर यसपाली काेभिड-१९ का कारण परिस्थिति गम्भीर छ’, उनले सुनाइन्।

यसाे भन्दै गर्दा अघिल्ला वर्षहरुमा तीजकाे केही दिनअघिदेखि नै महिला सहकर्मीहरु एक आपसमा मिलेर ड्युटी आवर सकिएपछि दर खाएर रमाइलाे गरेकाे उनले सम्झना गरिन्। घर जान नपाए पनि र बिदा नपाइए पनि एक आपसमा मिलेर चाड मनाउने गरेकाे सुन्दा हामीलाई पनि खुशी लाग्यो।

‘तपाइँले अन्तिम पटक सामान्य नागरिक (राष्ट्रसेवक प्रहरीका रुपमा हाेइन) का रुपमा कहिले तीज मनाउनुभएकाे थियाे?’ भन्ने हाम्राे जिज्ञासामा उनले भनिन्, ‘चार वर्षअघि म प्रहरी सेवामा प्रवेश गरेकाे वर्ष आफन्त साथीसँगी तथा घरपरिवारसँग बसेर तीज मनाएकाे थिएँ। मैले यो सेवा नै तिजको भोलिपल्ट सुरु गरेकी हुँ।’

कार्यालयमा दरकाे कार्यक्रममा भने घरपरिवारसँग जस्ताे खुलेर मनाउन नपाइने र प्रहरीकाे अनुशासनभित्र रहेर मनाउनुपर्ने भएकाले सर्वसाधारणका हिसाबले मनाएजस्ताे चाहिँ अलि नहुने उनकाे अनुभव छ।

राष्ट्रसेवामा नआएकाे भए रमाइलाे तरिकाले तीज मनाउन पाइने रहेछ, बेकार याे पेशामा आएछु जस्ताे लाग्दैन? हामीले उनकाे ठाउँमा आफूलाई राखेर हेर्दै प्रश्न गर्‍याैं।

‘मलाइ त्यस्ताे लाग्दैन। म मेरै रहरले याे पेशामा आएकाे हुँ। याे पेशामा आएर जिन्दगीका उतार चढाव देखिसकेपछि संघर्ष नै जीवन हाे भन्ने बुझेकाे छु। पछुताे छैन। तर दिदीबहिनीहरुलाई राताे लुगा लगाएर हिँडेकाे देख्दा पुराना दिनमा तीज मनाएकाे, आफन्त र साथीसँगीकाे भने खुबै याद आउँछ,’ यति भनिरहँदा उनी थाेरै भावुक देखिइन्।

अघिल्ला वर्षमा पशुपतिमा ड्युटी बस्दा तीज मनाइरहेका सबै दिदीबहिनीसँगै नाचाैँ, ड्युटी पनि राताे सारीमै बस्न पाए हुन्थ्याे भन्ने लाग्दैनथ्याे? हाम्राे प्रयास अझै पनि उनकाे भित्री भावना बुझ्ने थियाे।

‘लाग्दैनथ्याे। हिन्दू महिला भएका कारण तीजमा राताे सारी लगाएर नाचाैँ भन्ने त लगभग सबैलाई लाग्छ नै। तर ड्युटीका बेला आफूलाई हिन्दू नारीभन्दा पनि राष्ट्रसेवक कर्मचारी हुँ भन्ने भावनाले जित्ने हुनाले उहाँहरुकाे सेवामा नै रमाउने बानी परिसकेकाे छ’, उनकाे अर्काे कुटनीतिक जवाफ आयाे।

आफूले बिदा नपाउने तर घरबाट छाेरी तीज आयाे, मिलाएर आउ है भन्ने खालकाे निम्ताेसहितकाे फाेन आउँदा कस्ताे महसुस हुन्छ? हामीले काेट्याउन चाह्याैँ। उत्तरमा उनी बाेलिन्, ‘ममीले सधैं मिलाएर घर आउ है छाेरी भन्नुहुन्छ, म उहाँकाे चित्त नदुख्ने गरी बिदा मिलेसम्म आउँछु नि मामु, सबै जना मिलेर रमाइलाे गराैँला, आउन पाइन भने राताे सारी किनेर पठाइदिन्छु नि है! भन्छु।’ उनले यसाे भनिरहँदा स्वरमा अलिक गह्राैंपना महसुस गर्न सकिन्थ्याे।

हामीलाई अझै बुझ्नु थियाे, त्यसैले अघिल्लै प्रश्नलाई हल्का घुमाएर दाेहाेर्‍यायाैं कि ममीले फाेन गर्दा र आफू जान नपाउँदा वास्तवमै मनमा चाहिँ कस्ताे हुन्छ। यसपाला हामीले औपचारिक र कुटनीतिक भन्दा पनि एउटी आमाले तीजमा घर आउ भन्दा छाेरीकाे रुपमा मनभित्र जे बित्छ त्याे बाहिर आओस् भन्ने अपेक्षा गरेका थियाैैँ र भइदियाे पनि त्यस्तै।

मेराे ममीकाे लागि त म नेपाल प्रहरी हाेइन छाेरी हुँ नि, उनले अलि भावुक हुँदै भनिन्, ‘ड्युटी गर्नु नपर्ने वा बिदा पाएकाे भए त घर जान्थें, ममीले पकाएकाे दर खान्थें अनि सबै दिदीबहिनीसँग मिलेर नाच्दे गाउँदै तीज मनाउँथे भन्ने त सबैलाई हुन्छ नि। मलाई पनि त्यस्तै महसुस हुन्छ।’

तर प्रहरीकाे जागिर त्यसमाथि अहिले विषम परिस्थिति रहेकाले कुन ठाउँमा कतिखेर ड्युटी पर्छ त्यसका लागि तयार रहनुपर्ने उनले बताइन्।

महिला दिदीबहिनीकाे चाड र आफू पनि महिला भएकाले आफन्तहरुले निम्ता गर्दा के जवाफ दिनुहुन्छ भनेर हामीले उनकाे भित्री पाटाे अझै खाेतल्न चाह्याैं।

जवाफमा उनीभित्रकाे नारीसुलभ आवाजलाई उनकाे पेशाकाे नीर्भीकता र कर्तव्यले जित्याे। उनले दृढ हुँदै सुनाइन्, ‘आफन्तले बाेलाउँदा मिले यसपाली आउँछु नमिले अर्काे पाला भन्छु। तर नेपाल प्रहरीकाे बर्दी लागाएपछि म नेपाली नारी हुँ भन्दा पनि म राष्ट्रसेवक कर्मचारी हुँ, मेराे लागि चाडपर्वभन्दा कर्तव्य महत्वपूर्ण छ भन्ने भावना आउँछ।’

याे सुनाउँदै गर्दा उनले याे भन्न भने छुटाइनन् ‘नारी हुँ, आखिर जेजस्ताे भए पनि सबै दिदीबहिनीहरु राताम्य भएर रमाइलाे गरेकाे आँखै अगाडि देख्दा उनीहरुसँगै मिसिएर रमाइलाे गराैँ भन्ने भावना आइहाल्छ नि!’

अरु दिदीबहिनीकाे तीज रमाइले र सुरक्षित पार्न दिनभर ड्युटी गरेर घर फर्केपछि आफ्ने तीज त यतिकै गयाे, मनाउने समय पनि भएन जस्ताे लाग्दैन?

हरेक अघिल्ला प्रश्नकाे झैं कतै नअड्की उनले तयारी गरेर राखे झैं जवाफ दिइन्, ‘त्यस्ताे लाग्दैन बरु म यस्तै पेशामा छु मैले कर्तव्यलाई प्राथमिकता दिनुपर्छ भन्ने साेच्छु, उनले थपिन्, युनिफर्ममै भए पनि व्रत म पनि बस्छु, पूजा म पनि गर्छु, तर फरक यति हाे त्यतिबेला म राताे सारी र चुरा लगाउन पाउन्न।’

तीजका दिन व्रत बस्दै आएकाे र ड्युटीमा रहँदा समय मिलाएर पूजा वा दर्शन गर्ने र त्याे नमिले बाहिरबाटै मनमा भगवान सम्झने गरेकाे उनले सुनाइन्। ड्युटी सकिएपछि घर फर्केर पूजापाठ गर्ने र नजिकै नाचगान भइरहेकाे ठाउँमा संलग्न भएर तीजकाे रहर पूरा गर्ने उनले स्पष्ट पारिन्। उनले यसाे भनिरहँदा उनी कर्तव्य र संस्कृतिलाई कति सहजै सँगसँगै लगिरहेकी छिन् भन्ने बुझ्न सकिन्थ्याे।

अन्त्यमा उनले आफ्ना आफन्त र साथीसँगीलाई आफू आउन नसके पनि रमाइलाे गर्नु भन्दै परम्परागत श‌ैलीमा शुभकामना दिइन्। साथै अहिलेकाे अवस्था पाेहाेर परारकाे भन्दा बिल्कुलै फरक भएकाले भिडभाड नगरी सामाजिक दूरी कायम गरेर तीज मनाउन सुझाव पनि दिइन्। उनले भनिन्, ‘याे पाला यस्तै भयाे, याे काेभिडकाे महामारी अलि शान्त भएपछि आउँदा वर्षहरुमा जत्ति पनि खुलेर रमाइलाे गराैंला। अहिलेलाई सुरक्षित रहनुहाेला।’

हामी उनका केही फाटाेहरु खिचेर धन्यवाद दिँदै बिदा भयाैं। सडक पारी पुगेर फर्केर हेर्दा उनी त्यही पाेजिशनमा उसैगरी ड्युटीमा तैनाथ थिइन्- नीर्भीक, नीडर अनि कर्तव्यनिष्ठ रुपमा। देशको परिस्थिति जस्तो भए पनि आफ्नो इच्छा, घर, परिवार नहेरी नागरिक र राष्ट्रको सेवामा सदैव खटिएका पुष्पा जस्तै राष्ट्रसेवक, स्वास्थकर्मी, कर्मचारी तथा सबै नारीहरुमा हरितालिका तिजको शुभकामना।  – नेपाली पत्रिका

ताजा समाचार