Home चितवन विशेष अयोध्याको प्रसङ्ग माडी बिकाशको अबसर

अयोध्याको प्रसङ्ग माडी बिकाशको अबसर

0

प्रधानमन्त्री के.पी. शर्मा ओलीले भगवान रामको जन्मस्थल माडीको अयोध्यापुरी हो भन्ने सार्वजनिक अभिव्यक्ति दिएपछि माडीमा अयोध्याको प्रसङ्गका बारेमा खोज अनुसन्धानको कार्य अगाडि बढेको छ । अनुसन्धानकै कार्य अगाडि बढिरहकै अवस्थामा विभिन्न व्यक्तित्वहरुको भनाइ र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका विषयहरुले माडी र अयोध्याको विषयमा केही अन्यौलता उत्पन्न भएको छ भने त्यसलाई विषयान्तर गरी माडी र अयोध्याको सम्बन्धलाई ओझेलमा पार्ने प्रयास पनि भएको छ । माडीको विकासको लागि कृषि, पर्या पर्यटन र धार्मिक पर्यटनको क्षेत्रमा विशिष्ट काम गर्नुपर्छ भन्ने जान्दाजान्दै पनि माडीको गौरव र गरिमाको विषयमा पनि विभिन्न मतमतान्तर भएकोले केही लेख्ने प्रयास गरेको छु ।

माडी नगर पालिकाले गतवर्षमा नेपाल ललितकला प्रतिष्ठानसँगको समन्वयमा राष्ट्रिय स्तरका कलाकालहरुमार्फत सोमेश्वरगढीमा मूर्ति कुँदेर धार्मिक पर्यटनको आकर्षण बढाएको थियो । राष्ट्रिय स्तरका कलाकारहरुको उपस्थितिमा मूर्ति कुँद्ने कार्यले धार्मिक पर्यटन सम्बन्धी राष्ट्रिय माहौल पनि बनेको थियो । अहिले केही मित्रहरुले मूर्ति र मूर्ति पूजाको विरोध गर्नु भएको छ । कर्यौ नेताका शालिक, स्तम्भ हामीले नै बनाएका हैनौं र ? पुष्पलाल,मदन भण्डारी लगायत जनयुद्धका सहिदहरुको मूर्ति कुँदेका छैनौं र ? मूर्ति एउटा आस्था हो । भगवानको होस् , नेताको होस् वा सहिदको, आस्था भएर नै मूर्ति कुँदिएका छन् । नेता अनि सहितको मूर्तिमा फुलमाला चढाएर पूजा गर्नेहरुले आस्थाकै आधारमा बनेका र बन्ने भगवानको मूर्तिको विषयमा विरोध गरेर पक्कै ठूलो भइदैन् । अरुको आस्थालाई पनि सम्मान गर्न सक्नुपर्छ । विगतदेखि माडीको नाममा राजनीति गर्दै माडीलाई नै राजनीतिक थलो बनाउनेहरु नै माडीमा धार्मिक पर्यटनको विरोधमा सक्रिय भए ।

राम भगवान् थिए वा थिएनन्, अयोध्या थियो थिएन त्यो प्रमुख विषय होइन । त्यसको बारेमा अध्ययन अनुसन्धान भएरहेको छ । तर राम र अयोध्याका बारेमा आस्था राख्नेहरुको अवमूल्यन गर्ने अधिकार कसैलाई छैन् । अचम्म त के भने विवहा गर्दा प्रगतिशील गर्ने अनि विवहा उत्सव र जन्मोत्सव केक र वियरका साथ गर्नेहरुलाई के भन्ने ? जति आदर्शका कुरा गरिन्छ ती व्यवहारमा लागू भएका छन् ? संविधानमा नै उल्लेख भएको धार्मिक स्वतन्त्रता र धर्म निरपेक्षताको विरुद्धमा बोल्ले अधिकार कसैलाई छैन ? सम्बन्धित विद्वानहरुले बुझ्नु पर्ने भएको छ । भानु जयन्तीको विषयमा सम्माननीय प्रधानमन्त्रीले बोलेको विषयले माडीलाई घाटा परेको छ र ? हामीले धार्मिक पर्यटनको कुरा गरिरहँदा त्यसले त झन उर्जा थपेको छैन् र ? प्रधानमन्त्रीज्युले वडाध्यक्षलाई फोन गर्नुभएको विषयले केहीलाई पीडा पनि भएको रहेछ । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा जनतालाई नै प्रतक्ष्य फोन गर्ने र जनताकै घरमा गएर बस्ने काम भएको होइन र ? स्थानीय ठाउँको बारेमा प्रधानमन्त्रीले जनप्रतिनिधिलाई फोन आउनुलाई किन अन्यथा मान्ने ? यो त चिन्तनको विषय भयो ।

अरुले राम्रो गर्ने र माथि गएको देख्न नसक्ने चिन्तनले नै फोनको विषयमा अनावश्यक बखेडा निकाल्ने काम भएको छ । यतिबेला जे विषय उठेको छ समग्र माडीको हितकै विषयमा उठेको छ , यसलाई अनावश्यक विवाद बनाउनु हुँदैन । सुकुम्वासी समस्याको समाधान गर्नको लागि सरकारले आयोग नै बनाएर काम अगाडि बढाएरको छ । माडी नगरपालिकालाई पनि पहिलो चरणमा राखेर काम गरिरहेको छ । कुुसुमखोलामा निकुञ्जले आगो लगाएरका घरहरु नगरपालिकाकै अग्रसरतामा लिएको छ । प्रदेश सरकारको सहयोगमा परुइ किनारमा बन्न लागिको घरहरु बेनामी उजुरीका कारण रोकिएका छन् । सर्वाेच्च अदालतको आदेशले नै रोकिएको सबैलाई अवगत नै छ । आदेशको सम्मान गर्दै युवाहरुको अगुवाईमा बनाउन लागिएरको काम पनि रोकिएको छ ।

बनाउने कार्यको अगुवाई नगरपालिकाले गरेकै छ । आयोगले पनि काम अगाडि बढाएको छ । यसको समाधान हुँदैछ । हिजो सोमेश्वरमा करोडौं रकम खर्चेर बाटो बनाइरहँदा सुकुम्बासीको समस्या थिएन र ? त्यतिबेला माडीमा सुकुम्वासी समस्या नदेख्नेले यतिबेला कुन चस्माले देखेका छन् ? चासोको विषय बनेको छ । नेकपा माडी नगरपालिकाले एकल एजेण्डा बनाएर वैठक नै बसेर प्रधानमन्त्रीले राखेको विषयलाई स्वागत गर्दै काम अगाडि बढाउने निर्णय गरेको थियो । माडी नगर प्रमुखको अध्यक्षतामा प्रदेश सदस्यसहितको सर्वदलिय वैठक बसेर नारदमणि पौडेलको संयोजकत्वमा अयोध्या खोज अनुसन्धान र व्यवस्थापन समिति गठन गरेको सबैमा अवगत नै छ । यति हुँदाहुँदै पनि सम्बन्धित पार्टीका कार्यकर्ताले नै विरोध गर्नु कति उचित हो ? पार्टी अनुशासनको विषय पनि के होला भन्नेतर्फ कस्ले सोच्ने हो ? भगवान होलान् नहोलान् दोश्रो विषय होला । प्राय सबैको घरमा तुलसीको मोठ र खोपीमा देवताको फोटो पनि भेटिएला । आस्था र विश्वास धेरैमा छ । यो समयमा विरोध होइन अवसरको रुपमा लिएर धार्मिक पर्यटनको विकास गर्ने बेला हो । विरोधको मात्र कुरा गर्नु पक्कै पनि उचित होइन ।

वाल्मीकि आश्रम, गोद्धक, परशुराम कुञ्ड, पाण्डव नगर, सोमेश्वर, वैकुण्ठे ताल, सीता गुफालगायत सबैको गुरुयोजना निर्माण गरी माडीको धार्मिक पर्यटनको विकास गर्दा माडीकै हित हुने हो । यसैलाई माडी विकासको आधार तयार गरी रेवा नदी करिडोर, निकुञ्जको विषय र भूमिहिन सुकुम्वासी समस्यालाई सँगै अगाडि बढाएर जानु नै अहिलेको आवश्यकता हो । यतिबेला आएको अवसरको विरोध गरेर राजनीतिक दाउपेचका कुरा गर्नेहरु विकास विरोधी ठहरिन्छन् ।

यसलाई भविष्यमा माडीवासी जनताले नै फैसला गरिदिन्छन् । यतिबेला अयोध्या र भगवान रामको विषयमा खोज अनुसन्धान गर्न अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समिति गठन भएको छ । समितिले निम्न विषयहरुमा ध्यान पु¥याएर अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको छ । १) समितिले विज्ञहरुसँग परामर्श समग्र माडी विकासको गुरुयोजना तयार गरी अगाडि बढ्नुपर्छ २) समितिलाई माडी नगरपालिकाको कार्यपालिकाले अनुमोदन गर्नु पर्छ ३) धार्मिक ग्रन्थ, ऐतिहासिक ग्रन्थ र पुरातत्व सम्बन्धी ग्रन्धहरुको सङ्कलन गरी अध्ययन केन्द्र स्थापना गर्नुपर्छ ४) स्थानहरुको विकल्पसहित खोज गर्ने र निर्माणका कार्यहरु विज्ञहरुको सुझाव र प्रतिवेदनका आधारमा अगाडि बढाउनुपर्छ ५) स्थानीय अगुवाहरुको भेला गरी सर्वसम्मत निर्णय गर्ने, वडाबीचमा विवाद नगर्ने विज्ञको सिफारिस र सल्लाह सबैले मान्नुपर्छ ६) माडीको समग्र धार्मिक पर्यटन विकासकोे लागि धार्मिक विज्ञ, स्थानीय समिति र माडी पर्यटन समितिसँग समन्वय गरी काम गर्नुपर्छ ७) अध्ययन सम्बन्धी कार्यालय स्थापना गरी नगरपालिकाले वजेट विनियोजन गर्नुपर्छ समग्र माडीको विकासको लागि यतिबेला सुअवसर प्राप्त भएको छ । समग्र माडीको गुरुयोजना तयार गरी अयोध्या धाम, रिउ करिडोर, सुकुम्वासी समस्या र निकुञ्जको विषयलाई अगाडि बढाउनुपर्छ । व्यक्तिगत स्वार्थ र राजनीतिक दाउपेचलाई त्यागेर समग्र माडीको हितमा काम गर्ने अवसर आएको हुनाले सबैले सोचेर काम गरौं । यसले नै माडीको हित हुनेछ । जय माडी, जय माडीवासी जनता ।

(लेखक – श्रीप्रसाद दवाडी सामाजिक अगुवा एवम् नेकपा माडी नगरकमिटि सदस्य हुनुहुन्छ )