होमपेजशिक्षाकमैयाको छोरी माननिय , चालीस कटे पछि एसइइ ,पिएचडी गर्ने धोको

कमैयाको छोरी माननिय , चालीस कटे पछि एसइइ ,पिएचडी गर्ने धोको

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाले सुदूरपश्चिम प्रदेशकी सांसद चुनकुमारी चौधरीलाई ‘हर्ष न विस्मात’ भएको छ । २.२५ ग्रेड ल्याएकी उनी भन्छिन्, ‘खाउ भने कान्छो बुवाको अनुहार, नखाउ भने दिनभरिको शिकार ।’

अरु विद्यार्थीसरह उनी पनि चैत ६ गतेदेखि हुुने भनिएको एसईई परीक्षाको समय हेरेर बसेकी थिइन् । तर कोभिड १९ ले गर्दा परीक्षा नहुने भएपछि उनी खिस्स परेकी थिइन् ।

परीक्षा नै नभई आन्तरिक मूल्यांकनको आधारमा उत्तीर्ण भएपछि मनमा अपसोच भएको भन्दै उनले असन्तुष्टि पोखिन् । ‘आफैं लेखेर एसईई परीक्षा दिने मेरो जीवनकै सबैभन्दा ठूलो धोको थियो । त्यो पूरा भएन । पास भएपनि आत्मसन्तुष्टि मिलेन,’ उनले भनिन् ।

तर उनले अब उच्च शिक्षाको लागि तयारी गर्ने बताएकी छिन् । स्कूले यात्रा सँगसँगै राजनीतिक तथा संसदीय यात्रा तय गरेकी ४२ वर्षीया सांसद चौधरीले राजनीति शास्त्र र कानून विषय लिएर क्याम्पस भर्ना हुने बताएकी छन् ।

कैलालीको गोदावरी नगरपालिका–६ बडेहा घर भएकी सांसद चौधरी सिद्धबाबा माध्यमिक विद्यालय गेटाबाट परीक्षा दिन लागेकी थिइन् । उनले ८ कक्षाको बोर्ड परीक्षा भने भागेश्वर आधारभूत विद्यालयबाट उत्तीण गरेकी थिइन् ।

आफ्नो स्कूले यात्राबारे उल्लेख गर्दै उनी भन्छिन्, ‘यहाँसम्म पुग्न जीवनमा धेरै संघर्ष गरेकी छु । सायद मेरो जीवनमा ग्रहण गर्न नसकेको कुनै चिज बाँकी छ भने त्यो हो औपचारिक शिक्षा । विद्यमान सामाजिक संरचना र गरीबीको कारण शिक्षा आर्जनबाट वञ्चित थिए । शिक्षा विना मानव जीवन कति कहालिलाग्दो, अँध्यारो हुँदो रहेछ भन्ने कुरा म आफैंले भोगेकी छु । शिक्षा विना जीवनमा पटक–पटक मरेतुल्य भएकी छु ।’

जन्मजात कमैया बनेका बुवा तेजराम चौधरी र आमा बेलमति चौधरीको कोखबाट जन्मेकी सांसद चुनकुमारीको बाध्यकाल जमिनदारकै घरमै बित्यो । शिक्षा आर्जन गर्ने बेला जता बुवाआमा पुग्थे, उतै जानुपर्ने उनको बाल्यकालको विवशता थियो । यतिमा सीमित भएन उनको कारुणिक जीवन यात्रा । उमेर १५ वर्ष पुगेपछि विवाह बन्धनमा बाँधिनुपर्‍यो र शुरू भयो घरगृहस्थी जीवनको शुरूआत ।

उनले स्कूले यात्राभन्दा पहिल्यै कयौं साक्षरता कक्षा नलिएकी भने होइनन् । उनले आधारभूत कम्प्यूटर शिक्षा, ड्राइभिङ समेतको सीप हासिल गरेकी छन् । तर जीवनको उच्चतम् लक्ष्य प्राप्तिको लागि शैक्षिक योग्यता अनिवार्य रहेको अनुभूति उनी सुनाउँछिन् । त्यही लक्ष्य प्राप्तिको लागि शिक्षा आर्जन गर्नैपर्ने चाहना र बाध्यताकै कारण औपचारिक शिक्षा आर्जनको यात्रामा रहेको उनले बताइन् ।

उनी आफ्नो विगतको एउटा घटना कोट्याउँछिन्, ‘एउटा कार्यक्रम चलिरहेको बेला एक जनाले शैक्षिक योग्यताको कुरा निकाले । मलाई लाग्थ्यो उसले मलाई नै लक्षित गरेर भनिरहेको थियो र कुनै बेला मेरो व्यक्तिगत विवरण (बायोडाटा) माग्दा म आफैंलाई निरीह महसूस गरेकी थिए र स्कूलको यात्रा थालें ।’

जागिर खानलाई पढिरहेको छैन

जीवन भोगाइको क्रममा खट्किएको शैक्षिक अभावकै कारण स्कूले यात्रा तय गरेको बताउने उनी अब भने लाठी टेकेर भएर पनि पढ्ने इच्छा पूरा गरेर छोड्ने दृढ संकल्प सुनाउँछिन् । ‘म कुनै जागिर खानलाई होइन, देश र जनताको लागि पढाइ थालेकी छु, देशको लागि धेरै काम गर्न मैले बाँकी देखेकी छु । मलाई देशकै चिन्ता छ । पढाइलाई निरन्तरता दिन लाठी टेकेर पनि पढ्छु । मलाई अब कुनै पनि अवरोधले छेक्न सक्दैन,’ उनले अगाडि थपिन्, ‘हेरौं समयले कत्तिको साथ दिन्छ । राजनीतिकर्मी भएकाले राजनीतिशास्त्र र नीति निर्माणको तहमा भएकाले कानून विषय पढ्ने धोको छ । समयले साथ दिए पीएचडी गर्ने अन्तिम लक्ष्य नै हो ।’

सामाजिक क्षेत्रबाट राजनीतितिर

२०७४ सालको प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट (समानुपातिक) सांसद बनेकी चुनकुमारी पहिल्यैदेखि सामाजिक गतिविधिमा उत्तिकै क्रियाशील थिइन् । स्थानीय बडेहा चैटनीपुर महिला सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ता हुँदै सचिव र अध्यक्षको जिम्मेवारी सम्हालेकी उनीपछि रेन्जपोस्ट अत्तरिया अन्तर्गत फोकोफनको उपाध्यक्ष हुँदै २०६३ सालमा पार्टीको क्रियाशील सदस्यता र खानेपानी उपभोक्ता महासंघको केन्द्रीय सदस्य समेत भइन् ।

हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला सदस्य रहेकी उनले आफ्नो सामाजिक तथा राजनीतिक जीवन भने २०५१ देखि शुरू गरेकी हुन् । २०६७ सालमा गृहमन्त्री भीम रावल भएको बेला सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले थालेको आन्दोलनमा उनी २ पटक प्रहरी हिरासतमा समेत परेकी छन् । – लोकान्तर

 

ताजा समाचार