Home चितवन विशेष चेपाङ बस्तीमा भएको घटनामा निकुञ्ज बिभागले माफी माग्यो

चेपाङ बस्तीमा भएको घटनामा निकुञ्ज बिभागले माफी माग्यो

0

चितवन , साउन १५ – चितवन राष्ट्रिय निकुञ्जले कुसुमखोलामा चेपाङ समुदायका घर जलाएको र हात्ती लगाएर भत्काउन लगाएको प्रति राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले माफी मागेको छ । विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेलले संघीय संसद प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा उक्त घटनाप्रति विभागको तर्फबाट माफी मागेका हुन् ।समितिको बुधबारको बैठकमा कँडेलले उक्त घटना मानवीय गल्ती भएको भन्दै माफी मागेका हुन् । ‘केही छिटफुट घटना भएको छ । अमानवीय भन्नाले पनि केही मानवीय त्रुटिले घटना हुन गएको छ । म विभागकोतर्फबाट क्षमा याचना गर्न चाहन्छु,’ उनले भने ।
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बसेका चेपाङ समुदायका घर भत्काइएको र जलाइएको थियो । व्यापक विरोधपछि विभागले क्षमा याचना गरेको हो ।कँडेलले वन्यजन्तु र मानिसबीचको द्वन्द्व समाधान गर्नका लागि बस्ती सार्ने क्रममा कमजोरी भएको बताएका हुन् । घर र गोठको रूपमा प्रयोग गरिएका ‘कटेज’मा आगो लगाइएको र भत्काइएको उनले बताए । उक्त क्षेत्रमा २०५३ सालयता स्थानीय बसोबास गर्दै आएको र पछिल्लो समय दुर्घटना बढेसँगै हटाउन लागिएको कँडेलको भनाइ थियो । चेपाङ बस्ती भएको क्षेत्र भारत र पर्सा राष्ट्रिय निकुञ्जबाट हात्ती आउने बाटो भएकाले खाली गर्न लागिएको उनले जानकारी दिए । समितिको बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्‍नेतले मानवीय त्रुटिका कारणले घर जलेको बताएका थिए ।

-ekantipur

फोटो : फाइल