होमपेजचितवन विशेषमाडीका युबा अगुबाले लेखे बन मन्त्री लाई खुला पत्र

माडीका युबा अगुबाले लेखे बन मन्त्री लाई खुला पत्र

सुकुम्बासी चेपाङको हृदय क्रूर र अन्धो राज्यसत्ताले लगाएको आगोले भन्दा बढी तपाईंको बयानले पोलेको छ 

मन्त्रीज्यू नमस्कार, म तपाईंको एक कार्यकर्ता र नागरिकका रूपमा तपाईंलाई यो खुला पत्र लेख्दै छु । आशा छ, तपाईंको मन्त्री पदको मानमर्दन यो सम्बोधनले गर्नेछैन । पोहोर माडीका दर्जनभन्दा बढी नेता र मेयरसहित तपाईंलाई भेट्न आएका थियाैं । तनावपूर्ण संवादको नमिठोको साथमा तपाईंको आश्वासन बोकेर माडीका जनतालाई थुमथुम्याउन फर्केका थियौँ हामी । गत साउन ४ गते चितवन राष्ट्रिय निकुञ्ज कसरा मुख्यालयको आदेशमा सहायक वार्डेन भोजराज पन्तको टोलीले न्यूनतम मानवीयताको समेत ख्याल नगरी निरीह चेपाङ बस्तीका दुई घरमा आगो लगाइदियो, आठवटा घर भत्काइदियो । तर, आइतबार तपाईंले संसदीय समितिमा दिएको बयानले हामीलाई सुकुम्बासी चेपाङ बस्तीमा क्रूर र अन्धो राज्यसत्ताले लगाइदिएको आगोले भन्दा बढी पोलेको छ । हामी भोलिपल्टै चिफ वार्डेन नारायण रुपाखेतीलाई भेट्न गएका थियौँ । वार्डेन तपाईं र नेताहरूसँग तीनवटा झुट बोलिरहेका थिए ।

पहिलो झुट, घर होइन टौवा र मचान जलाइएको हो । मन्त्रीज्यू, कुसुमखोला नामको बस्ती ०४८ सालदेखि माडीको वडा नं. ९ मा छ । यो बस्ती तपाईं–हाम्रै नेता दिवाकर भुसालहरूले भीषण संघर्ष गरेर बसालेका थिए । यी मान्छे २५ वर्षदेखि तपाईंको निकुञ्जका कर्मचारी र सेनाको अत्याचार सहँदै विनाबर्दीका सिपाही बनेर तस्कर र सिमानाका भारतीय डाकुसँग लड्दै वन र सीमा जोगाएर बसेका हुन् । फेरि यो निकुञ्ज होइन, मध्यवर्ती क्षेत्र हो । यहाँ ती चेपाङका मुस्किलले टाउको लुकाउने झुप्रो, खनिखोस्री गर्ने अलिकति बारी र दुई–चार वस्तुभाउ अटाउने गोठ थिए । यी निमुखा गरिब हुन्, त्यसैले यिनको घर तपाईंको नजरमा झुप्रा मात्रै देखियो । यिनलाई सत्ताले सधैँ यसरी दुत्कारिरहेको छ कि यिनले बनाउन सक्ने त्यही झुप्रो नै हो । त्यही पनि निर्ममतापूर्वक जलाइएको छ ।

दोस्रो, मकै कुर्ने मचान हो, जलाइएको होइन, हटाइएको हो । यो अमानवीय कर्तुतको ५० सेकेन्डको भिडियो आएको छ । हात्तीले भत्काएको र आगो लगाएको प्रमाण पठाइदिएको छु । तपाईंका लागि स्थलगत रिपोर्टिङमा पुगेका पत्रकारले खिचेको फोटो, पीडितका हृदयविदारक रोदन किन प्रमाण भएनन् अचम्ममा छु । जुन बस्तीका चेपाङसँग साँझ खाए बिहान खाने अन्न छैन, जुन बस्तीमा पुग्न सातपटक एउटै खोलो तर्नुपर्छ, मान्छे चार हातखुट्टा टेकेर पुग्नुपर्छ, त्यहाँ मोटरसाइकल कसरी जान्छ ?

घरमा बनाएको एउटा पिर्का, तरकारी खाने दुई मुठो निगुरो माडीबाट सदरमुकाम ल्याउन पाइँदैन भने यो कस्तो विवेक हो ? बजेट पर्छ, तर पुल र बाटो बनाउन पाइँदैन, यो कस्तो न्याय हो ? कुनै आपत्ले माडीबाहिर जान परे राति १० बजेपछि बाटो पाइँदैन, यो कस्तो समानता हो ? बर्खाका वेला सुकुम्बासीलाई आगो लगाएर धपाइन्छ, यो कस्तो समाजवाद हो ?

तेस्रो झुट, मेयरसँग सल्लाह गरेर भत्काएको हो । हो, माडी नगरपालिकाले त्यहाँका सुकुम्बासीको स्थायी आवास निर्माणको योजना बनाएको छ । तपाईंका कर्मचारीले अवरोध नगरिदिएको भए अहिलेसम्म ६० घर चेपाङ त्यहाँ स्थानान्तरित भइसकेका हुन्थे । विस्थापनमा परेर आएका सयभन्दा बढी परिवार अहिले माडीका विद्यालय र खोलाकिनारमा दयनीय स्थितिमा बसेका छन् । पार्टी केन्द्रदेखि, जिल्लासम्म र माडी र नगर कमिटी, प्रतिपक्ष र सम्पूर्ण सर्वसाधारणले सो घटनाविरुद्धमा सार्वजनिक गरेका विज्ञप्ति, घटनास्थलबाट व्यक्त गरेका विचार, स्थानीय जनप्रतिनिधि, सासंदहरूको भन्दा विश्वासिलो रिपोर्ट तपाईंलाई कहाँबाट आउँछ दाइ ? के पार्टी नेकपाले चुनावमा गरेको प्रतिबद्धता र दुवै अध्यक्षको माडीलाई मणि बनाउने अभिव्यक्तिमा तपाईंको नैतिक दायित्व हुँदैन ? अहिले ज्ञानेन्द्र शासनकालको मन्त्रीजस्तो किन हुनुभएको ? ऐन संशोधन होला, निकुञ्जका समस्याको दीर्घकालीन सामाधान होला भनेर कुरिबसेका हामी माडीवासी जब कुसुमखोलाका सुकुम्बासीका छाप्रा पोलिए, फेरि स्तब्ध भएका छौँ ।

आफ्नो घरमा बनाएको एउटा काठको पिर्का, तरकारी खाने दुई मुठो निउरो माडीबाट सदरमुकाम ल्याउन पाइँदैन भने यो कस्तो विवेक हो ? बजेट पर्छ, पुल र बाटोहरू बनाउन पाइँदैन, यो कस्तो न्याय हो ? कुनै आपत्ले माडीबाहिर जान परे राति १० बजेपछि बाटो पाइँदैन, यो कस्तो समानता हो ? बर्खाका वेला सुकुम्बासीलाई आगो लगाएर धपाइन्छ, यो कस्तो समाजवाद हो ? यहाँ दिनहुँ खचाखच यात्रीले भरिएको सार्वजनिक बसलाई खाली गरेर सैनिक जवानले कुकुर डोर्‍याउँदै लगी बसको खनतलासी गर्छन् । एउटा स्कुले विद्यार्थीले घरमा फलेको अनाज, तरकारी र फर्निचर बोकेर भरतपुर आउन पाउँदैन । माडी नगरका ४० हजार जनताको आधा उब्जाउ जमिन राष्ट्रिय निकुञ्ज र सामुदायिक वननजिक छ । यहाँ नगरपालिकाले बनाएको निकुञ्जभित्रका बाटामा मुडा तेर्साएर यातायात रोकिएको छ । ज्ञात होस्, निकुञ्ज घोषणापूर्व नै यो क्षेत्रमा बस्ती थियो । तर, यही निकुञ्ज रक्षा गरेबापत माडीवासीले उद्योग चलाउन पाउँदैनन्, वनपैदावारसम्बन्धी व्यापार गर्न पाउँदैनन् । अघोषित नकाबन्दीमा ४० हजार माडीका जनता वर्षौंदेखि पिल्सिरहेको कसले देख्ने ?

माडीका जनतालाई दोस्रो दर्जाका मान्छेसरह व्यवहार गर्ने निकुञ्जको कानुन, अधिकारी र सेनालाई तत्कालै केही गर्नुभएन भने हामी तपाईंको कार्यालयमा धर्ना बस्न आउनेछौँ । जबसम्म चितवन राष्ट्रिय निकुञ्ज माडीका जनतालाई अभिशाप होइन, वरदान बन्दैन, त्यतिवेलासम्म यो समस्या सामाधान हुँदैन ।

(पनेरू राष्ट्रिय युवा संघ, नेपालका केन्द्रीय सदस्य हुन् ।) -नयाँ पत्रीका 

ताजा समाचार