होमपेजविचार/ब्लगअध्यारोमा चम्किएकी तारा

अध्यारोमा चम्किएकी तारा

शान्ता अधिकारी – सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन !’ यो गीत धेरैको जीवनमा मेल खान्छ । तारादेवीले गाएको यो गीत ताराकुमारीकै लागि गाएकै हो कि जस्तो लाग्छ । २०३२ साल भदौ १४ गते माडीको साविक वगौडा ७ मा बुवा धुरी महतो र आमा चुलीयादेवी महतोको कोखबाट जन्म भयोे, ताराकुमारी काजी महतोको ।
पाँच दाई र दुई दिदीकी प्यारी ताराको बाल्यकाल सामान्य तरिकाले बित्यो । जमिन्दारको छोरी भएपनि बिहान बेलुका मेलापात, घाँस दाउरा र दिनमा विद्यालय गएर उनका बाल्यकाल बित्दै गए । घरमा काम गर्ने मानिस भए पनि उनमा म जमिन्दारको छोरी हुँ भन्ने भाव आएन । थारु समुदायमा जन्मे पनि भाग्यमानी हुन् तारा । उनका अन्य साथीसंगीहरुले विद्यालय देख्न नपाए पनि शिक्षाप्रेमी बुवा र दाजुहरुका कारण उनी विद्यालय जान पाईन् ।
‘हुने विरुवाको चिल्लो पात ।’ सम्पन्न घरमा जन्मिए पनि दुख सुख भोग्दै उनले आफ्नो पढाईलाई अगाडि बढाउँदै गईन् । पढाईमा मध्यम ताराले माडी माविबाट एस एल सी दिईन् । उनको समुदायबाट उनी र उनको भदिनी मात्रै एसएलसीमा सहभागी भएका थिए ।
एसएलसी दिएसँगै उनको विवाहको कुरा चल्न थाल्यो । संगैका साथीसंगीहरुको घरजम भैसकेको थियो । उनको अभिभावकले पनि घरजम गराईदिने निधो गरे । जस अनुसार उनको विवाह माडीमा नै सामान्य तरिकाले भयो ।
उनीहरुबाट दुई छोरीको जन्म भयो । केही गरौ भन्ने मनमा हुटहुटी मनमा थियो । तर समयले उनलाई परिक्षा लियो । विभिन्न कारणले गर्दा विवाहपछि उनले पढाईलाई अगाडी बढाउन सकिनन् । धेरै पढ्ने देशका लागि केही गर्ने सपना बोकेकी तारा रातमा आकाका ताराहरु गन्दै आफ्नो सपनाको संसार बुन्न थालिन् । छोरीहरु हुर्कदै थिए । जब छोरीहरु स्कुल जान थाले, उनले विभिन्न सामाजिक संस्थाहरुमा आफुलाई जोड्दै लगिन् । उनी गैसस चितवबाट सञ्चालित डकाउ कार्यक्रमको भिलेज फ्यासीलेटरको रुपमा रहेर काम गर्न सुरु गरिन् । जीवनको सबैभन्दा खुसीको क्षण पनि उनको यही हो । आज जति नै माथि किन नपुगु, तर पहिलो पाईला नै महत्वपूर्ण हुन्छ । जति नै अग्लो उचाइमा पुगेपनि तलबाट उक्लिएको सिँढी कहिल्यै पनि बिर्सन नसकिने रहेनछ । उनी भन्छिन, ‘आज यो उचाईमा हुने थिईन, त्यो दिनमा घर बाहिर निस्कन नपाएको भए ।’
मनमा दृढ ईच्छाशक्ति भएमा गरेरै छाडिन्छ भन्ने दरिलो प्रमाण हुन् तारा । पाँच वर्षसम्म त उनले डकाउमा नै काम गरिन् । कामकै दौरानमा उनले गाविस सचिवमा नाम निकाल्न सफल भईन् । तत्कालिन समयमा संयुक्त वडा कार्यालय ३, ४ र ५ को वडा सचिव भएर उनले बाह्र वर्षसम्म काम गरिन् । जागिरको दौरानमा उनले राजनीतिलाई नजिकबाट बुझने अवसर पाईन् । उनीमा राजनीतिक झुकाव बढ्दै गयो । राजनीति तर्फ उनका पाईलाहरु बामे सर्न थाले ।
उनको बिचारमा राजनीति सेवा हो । कर्मचारीको रुपमा काम गरिरहेकी उनलाई स्थानीय निर्वाचन २०७४ मा माडी नगरपालिकाबाट उप प्रमुखमा उम्मेदार बन्न तत्कालिन नेकपा एमालेबाट प्रस्ताव आयो । वैशाख १९ गते उम्मेदवारी दर्ताको दिन थियो । उनले १७ गते वडासचिवबाट राजीनामा दिएर चुनावी मैदानमा होमिईन् । करिब २० वर्षसम्म स्थानीय जनताहरुसँग रहेर उनीहरुको समस्याहरु बुझेकी तारालाई आदिवासी महिला र आम माडी बासीको समस्या र पिडा थाहा थियो । कामकै दौरानमा उनी सबैको मनमा बस्न सकेकी थिईन् । सरल, मिठो बोली र सबैको कुरा ध्यानपूर्वक सुन्न सक्ने खुवीका कारण उनी मतदाताहरुको रोजाईमा परेकी थिईन् । तर, चुनाव न हो कता कता मनमा डर लागेको बताउदै उनी भन्छिन्, ‘चुनाव हो हार वा जित जे पनि हुनसक्थ्यो ।’
प्रतिस्पधीहरु महिला नै थिए । एउटै समुदायबाट आएका महिलासँग प्रतिष्पर्धा थियो । मतदाताहरुको घर आँगनमा जाने क्रममा आदिवासी र महिलालाई पहिलो प्राथमिकतामा राखेको थिएँ । उनी थप्छिन, ‘मेरो लागि सबै मतदाता बराबर हो । तर आदिवासी र त्यसमा पनि महिला भएको हिसावले यी मेरो प्राथमिकतामा परेका मात्रै हुन् ।’
ती दिनहरु सम्झदै उनी भन्छिन्, ‘चुनावमा हार वा जित जे भएपनि त्यसलाई सहर्ष स्वीकार गर्नुपर्छ भन्ने थियो । विजयी भए त ठिक छ यदि हारियो भने पनि मतदाताहरुसंग गरेको बाचा पूरा होस् भनेर प्रतिष्पधीसँग मत माग्ने क्रममा भेट हुँदा सल्लाह गर्थेँ । यदि मैले हारेर तपाईले जित्नु भयो भने मेरा मतदाताहरुको अपेक्षा पनि पुरा गर्नु र यदि मैले जिते भने तपाईको भावनालाई पनि कदर गर्छु ।’
यसरी आफ्नै प्रतिष्पधीसँग पनि मित्रताको सम्बन्ध राख्न सक्ने ताराले अन्नः आफ्नो पक्षमा विजय हासिल गरिन् । माडी नगरपालिकाको उपमेयर हुन सफल भईन् ।
यतिबेला उनी माडी नगरपालिकाको उप प्रमुख भएको पनि दुई वर्ष पूरा भईसकेको छ । यस बीचमा उनले सकेसम्म सबैको दुखमा मलम लगाउने काम गरेकी छन् । भन्छिन्, ‘मैले कसैलाई पनि मेरो कार्यकक्ष बाहिर कुराएर राख्ने गरेको छैन । नीति र विधीबाट हुने काम उतीखेरै गरेर पठाउँछु । यदि कोही कसैले मैले थाहा नपाउने गरी मेरो कारणले दुख पाउन भएको छ भने मसँग सिधै कुरा गर्न आउनुस् ।
उनी भन्छिन्, ‘निर्वाचित जनप्रतिनिधी भएका हिसावले सबैको कुरा सुन्छु । स्थानीय सरकार सञ्चालन ऐनको नीति र विधिमा रहेर उप प्रमुखले गर्ने काम गर्छु ।’
यो ठाँउसम्म आउन उनले सामाजिक संघ संस्थामा रहेर लामो समय काम गरिन् । सगरमाथा परिवारको सहसचिव, पारालिगल कमिटि वगौडाको वडा संयोजक, नगरको सचिव भएर पाँच वर्षसम्म काम गरिन् । त्यसैगरी अनेमसंघ वगौडाको सचिव हुदै आज उनी माडी नगरपालिकाको उप प्रमुख हुन सफल भएकी हुन् ।
मानिस जुन परिवारमा, परिवेशमा र जुन परिस्थितिमा जन्मन्छ त्यो त परिवर्तन हुन सक्दैन । न त हरेक मानिसको हुर्काई र बढाई नै आफ्नो हातमा हुन्छ । कसैले जन्मदैमा राजकुमार हुने भाग्य लिएर आउँछन् त कोही एकदमै बिपन्न वा केवल मागेर जीवन पाल्ने परिवारमा जन्मन्छन् । यो त केवल भाग्यको खेल हो । कसैले यसलाई पूर्वजन्मको फल भन्छन भने कसैले यसलाई नियतीको खेल पनि भन्छन् । सबैकुरामा राम्रो हुदाहुदै पनि नियतिको खेल भनौ उनको जीवनमा काला दिनहरु पनि आइलागे । नसोँेचेका दिनहरुले जीवनको गोरेटोमा हिँड्दै गर्दा पहाड बनेर अवरोध गर्न खोजे । तर त्यसलाई व्यवस्थापन गदै अगाडी बढ्नुको विकल्प उनीसँग थिएन । उनको मागी विवाह थियो । सानै उमेर भएका कारण उनले के ठिक के बेठीक छुटाउन सकिनन् । घरमा अभिभावकले भने अनुसार विवाह गरिन् । तर, भैदीयो उनी श्रीमानको कान्छी श्रीमती । घरमा दिदी र दुई छोरा भएको थाहा पाउदा पूर्णिमाका रातमा चम्केका तारा झै चम्कदै गएकी तारामा एक्कासी औँसीको कालो बादल आईलाग्यो । अव थिएन पनि केही उपाए । उनले श्रीमानसँग एउटै सहमति गरिन्– यदि मेरो कारणले दिदी र छोराहरुलाई केही भएमा एक छिन पनि घरमा बस्ने छैन र मलाई सम्वन्ध बिच्छेद दिनुपर्छ ।’
श्रीमान उनको कुरामा राजी भए । जीवन आरोह अवरोहका बिच अगाडी बढ्दै गयो । उनी भन्छिन, अहिलेसम्म दिदी बहिनी जसरी मिलेर बसेका छौ । छोराहरुलाई आफैले विवाह गरीदिए । दिदीले घरमा सहयोग गरेकै कारण म बाहिर हिँड्न पाएँ । आज यो स्थानमा आउन मलाई मेरो परिवारको ठूलो साथ रहेको छ ।
प्रश्न आउन सक्छ, मानिसले के लाई सफल मान्ने ? प्रश्न गम्भीर छ । व्यक्ति व्यक्तिबीचको चाहना र प्राथमिकताको अन्तरले यसको सफलता मापन गर्छ । तारा जीवनमा वडा सचिव, उप प्रमुख भएर सफल महिला भईन् जस्तो हामीलाई लाग्न सक्छ । तर, उनको जीवनले भने १२ कक्षा पास गरेको दिनलाई सफलता मान्छ । कारण बषौँसम्म अड्किएर बसेको पढ्ने रहर उनले छोरीसंगै पूरा गरेकी थिईन् । उनले जेठी छोरीसंगै कक्षा ११ मा भर्ना भएर कक्षा १२ पास गरेको दिन जीवनकै खुसीको दिन थियो । खुसी ठूलो कुरामा होईन । खुसी हुन जानीयो भने सानो कुरामा पनि हुन सकिन्छ भन्ने उनी दरिलो प्रमाण हुन् ।
अहिले सम्मको भोगाई र अनुभवको निचोड निकाल्दा, सामाजिक कामका लागि बाहिर हिड्न सुरु गरेको पहिलो पाईलालाई नै ताराको जीवनको सफलताको सुरुवात हो । समय व्यवस्थापन नै ताराको सफलता हो । त्यसैले त उनी राजनीति, समाजसेवा र घर परिवार सबैलाई संगै लैजान सकेकी छन् ।
कहिले पनि सोचे जस्तो हुन्न जीवन । तर, जीवनमा सकारात्मक सोच्ने, आफ्नै परिवेश र आफ्नै धरातलमा आफैलाई राखेर जोख्ने, आफ्नो गुण पहिचान गरेर आफ्नो लक्ष्य मार्ग तोक्ने र जीवनलाई कुनै निर्दिष्ट लक्ष्यमा पु¥याउन कडा परिश्रम गर्ने हो भने आफैले सोचे जस्तो बनाउन सकिने रहेछ भन्ने उदाहरणीय पात्र हुन् ताराकुमारी काजी महतो । आफ्नो मार्ग आफै खोजेर अगाडी बढेका पाईलाहरु गन्तब्यमा पुगुन् । आई पर्ने सबै ब्याबधान हटाउँदै सधैभरी यसरी नै अगाडि बढिरहनु । सुखी र खुसी जीवनको लागि उनलाई धेरै धेरै शुभकामाना । – अग्रता साप्ताहिक

ताजा समाचार