होमपेजचितवन विशेषनिकुञ्जमा घोँगी खोज्न गएका चेपाङको सेनाको कुटाईबाट मृत्यु

निकुञ्जमा घोँगी खोज्न गएका चेपाङको सेनाको कुटाईबाट मृत्यु

चितवन , साउन ९ – चितवन राष्ट्रिय निकुञ्जले माडीको कुसुमखोलाको चेपाङ बस्तीमा घर भत्काएको विषयमा आलोचना भइरहँदा निकुञ्जकै सेनाको कुटाइबाट एक चेपाङको मृत्यु भएको घटना सार्वजनिक भएको छ ।साउन सक्रान्तिका दिन घोँगी खोज्न भन्दै निकुञ्ज भित्रको ज्यूडी खोलामा पुगेका ७ जनालाई सेनाले मरणासन्न हुनेगरी कुटेको र ती मध्ये एक जनाको मंगलबार मृत्यु भएको जाहेरी मृतकको परिवारले चितवन प्रहरीमा दिएको छ । जिल्ला प्रहरी कार्यालयमा राप्ती–२ का विष्णुलाल चेपाङले आफ्ना छोरा २४ वर्षीय राजकुमार चेपाङ सहितका ७ जनालाई सेनाले मरणासन्न हुनेगरी कुटेको र उपचारका क्रममा मृत्यु भएको भन्दै जाहेरी दिएका छन् । यद्यपी जाहेरी दर्ता भइसकेको छैन ।चितवन प्रहरीका प्रबक्ता डीएसपी सूर्य थापाले सेनाको कुटाईकै कारण मृत्यु भएको भनेर उजुरी आएपनि दर्ता भइनसकेको बताए ।उनले पोष्टमार्टम रिपोर्ट पछि नै अनुसन्धान सुरु गर्ने बताए । सेनाको कुटाई खाएका राप्ती–२ गड्यौलीका सन्तलाल प्रजाले सबैलाई पानीमा डुबाएर बुट र लाठीले पिटेको बताए । सन्तलालले पाँच जना पुरुष र तीन जना महिला घोंगी र माछा मार्नका लागि निकुञ्ज पुगेको बताए । उनले दुखाईका कारण अझै पनि औषधी सेवन गरिरहेका छन् । मृतक राजकुमारले पनि स्थानीय मेडिकलमा जचाएर औषधी खाएका थिए ।परिवारकाअनुसार औषधीले नभएपछि मंगलबार साँझ भरतपुर अस्पताल ल्याइएको थियो । अस्पतलमा भर्ना गरेको एक घण्टामा मृत्यु भयो । बाबु विष्णुलालकाअनुसार छोराले छातीमा दुखेको बताएका थिए । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले घटनाको सम्बन्धमा ढिलो जानकारी भएको भन्दै थप जानकारी लिने काम भइरहेको बताए । – माडी समाचार

फोटो – फाइल

ताजा समाचार