होमपेजचितवन विशेषयो वर्ष देवघाटमा बोलबम मेला नहुने

यो वर्ष देवघाटमा बोलबम मेला नहुने

चितवन श्रावण १ – हरेक वर्ष धार्मिक क्षेत्र देवघाटधाममा साउने मेलाअन्तर्गत हुँदै आएको बोलबम मेला यस वर्ष नहुने भएको छ ।

त्रिशूली नदी र कालीगण्डकीको संगम देवघाटमा साउन महिनाभरि हुने मेला कोभिड–१९ को संक्रमणको खतरालाई ध्यानमा राखी यसपटक नगर्ने निर्णय भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

चितवन नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा हुने मेलाको देवघाट क्षेत्र विकास समितिले व्यवस्थापन गर्दै आएको थियो ।

‘यसपटक कोरोना संक्रमण फैलिने जोखिम उच्च भएकाले दुःखका साथ मेला भर्न नआउनुस् भनेर सबैमा अनुरोध गरेका छौँ,’ समितिका अध्यक्ष शिवराज पौडेलले भने,  ‘चितवन, तनहुँ र नवलपुरका स्थानीय प्रशासनसँग समेत  छलफल गरेर यो निर्णय गरेका हौँ ।’

यहाँ साउने सोमबार दर्शनार्थीको अन्य दिनको तुलनामा बढी भिड लाग्थो । साउनका हरेक सोमबार २० हजारभन्दा बढी तीर्थयात्री आउने गरेको पौडेल बताउँछन् ।

स्वदेश तथा विदेशबाट तीर्थयात्री पहेँलो बस्त्र धारण गरी स्नानका लागि अघिल्लो दिन नै देवघाट आइपुग्थे र बिहानै स्नान, पूजापाठ गरेर फर्किथे ।

तर, अहिले स्नानघाट व्यवस्थापन गर्ने, स्वयंसेवक खटाउनेजस्ता पूर्वतयारीसमेत भएका छैनन् । समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार भिडभाड हुँदा भौतिक दूरी कायम गर्न नसकिने भएकाले यसपटक मेला हुन नसकेको बताए ।

‘देशभरबाट तीर्थालु आउने ठाउँ हो, कोही संक्रमित आइदिए भने संक्रमण फैलिन सक्छ,’ उनले भने, ‘संक्रमणबाट जोगाउन नै मेला रोक्न लागेका हौँ ।’

वर्षकै सबैभन्दा चोखो महिनाका रूपमा समेत लिने गरिएकाले साउनमा देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो  मनोकामना पूरा भई सुख शान्ति मिल्ने विश्वासले मेला भर्न भक्तजनहरूको घुइँचो लाग्ने गर्थे ।

मेलामा भक्तालुहरूले साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गरेर बेलपत्र तथा गंगाजल शिवमन्दिरमा चढाउने गर्थे ।

सरकारले देशभर कुनै मेला महोत्सव आयोजना नगर्न निर्देशन जारी गरेसँगै देवघाटमा कोरोना भाइरसको संक्रमण फैलने जोखिमका कारण प्रवेशमा समेत निगरानी बढाइएको छ ।

सामाजिक दूरी कायम गरी तथा स्वास्थ्य सुरक्षासहित बढीमा २५ जना दाहसंस्कारमा सहभागी हुन पाइने गरी सार्वजनिक अपिलसमेत भएको छ ।  -नयाँ पत्रीका

ताजा समाचार