होमपेजताजा समाचारनेकपा बैठकको चौथो दिन : आफूलाई हटाउने प्रम ओलीको अभिव्यक्तिबारे होला त...

नेकपा बैठकको चौथो दिन : आफूलाई हटाउने प्रम ओलीको अभिव्यक्तिबारे होला त छलफल

काठमाडौँ, असार १६ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज चौथो दिन बस्दैछ । असार १० गतेबाट सुरु भएको बैठक बीचबचमा स्थगित हुदै आज चौथो दिन बस्न लागेको हो । गत तीन दिनका बैठकमा छलफलका लागि तय भएका सात एजण्डामध्ये सीमा समस्या समाधानमा केन्द्रीत रहेर नेताहरुले धारणा राखेका थिए । यो एजेण्डामा केही सचिवालय सदस्यबाहेक धेरैले धारणा राखिसकेका छन् । यसमा सरकारले अतिक्रमित नेपाली भूमी समेटेर नक्सा जारी गरेकोमा सरकारलाई धन्यवाद दिँदै भूमि भोगचलनका लागि पहल गर्न सुझाव दिइसकेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेपछि बस्ने बैठकमा आजबाट अर्को एजेण्डाकेन्द्रीत छलफल सुरु हुने छ । त्यो भनेको कोभिड–१९ रोकथाम रहको छ । यो एजेण्डा केन्द्रीत छलफलमा सदस्यहरुले आ–आफ्ना धारणा राख्नेछन् । यसक्रममा नेताहरुले कोभिड नियन्त्रणमा सरकारले गरेका कामकारवाही प्रभावकारी हुन नसकेको भन्दै थप प्रभावकारी बनाउन सुझाव दिनेछन् । साथै उनीहरुले औषधी उपकरण खरिदका क्रममा भएका अनियमितता र भ्रष्टाचारका विषय पनि उठाउने तयारी गरेका छन् । यसमा सरकारको आलोचना हुने निश्चित छ ।

कोभिड–१९ रोकथामपछि रहेको अर्को एजेण्डा समग्र सरकारका कामकारवाहीको समीक्षा गर्ने रहेको छ । सम्भवतः नेताहरुले यी दुवै विषयमा मंगलबारको बैठकमा धारणा राख्नेछन् ।

विगतदेखि नै सरकारका कामकारवाही र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको कार्यशैलीप्रति नेकपाका नेताहरु असन्तुष्ट रहँदै आएका छन् । यो असन्तुष्टि उनीहरुले पार्टी बैठकमा समेत खुलेर पोख्नेछन् ।

‘विषय र एजेण्डाहरुमा खुलेर छलफल हुन्छ । उठेका प्रश्नहरुमा छलफल गर्नकै लागि बैठक बोलाइएको हो । त्यसैले हामी समग्र विषयमा छलफल गरेर अघि बढ्छौ’, स्थायी समिति सदस्य डा. बेदुराम भुषालले भने, ‘बैठकमा भएका छलफलले सकारात्मक निचोड निकाल्छ भन्ने अपेक्षा गर्न सकिन्छ ।

नेताहरुमा देखिएको धु्रविकरण, सरकारको काम गर्ने शैली र प्रधानमन्त्रीले पछिल्लो पटक दिएका अभिवयक्तिले गर्दा पनि नेकपाको जारी बैठक थप पेचिलो बन्ने देखिएको छ ।

प्रधानमन्त्री केपी ओलीले सरकार तथा पार्टी सञ्चालनका लागि यसअघि भएका सहमति तोडेको आरोप लाग्दै आएको छ । बैठकको उद्घाटनका क्रमा अध्यक्षद्वयले दिएका अभिव्यक्तिले तरंग उत्पन्न भइरहेका बेला असार १४ गते प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी तथा संविधान संशोधन गरेपछि आफुलाई प्रधानमन्त्रीबाट हटाउन भारत लागेको अभिव्यक्ति दिएका थिए । भारतको उक्त प्रयासमा नेपालका नेताहरुले समेत साथ दिएको उनको आशय थियो । ओलीको त्यो आशयमा नेपालका कुनै नेताहरुको नाम नलिएपनि आफ्नै पार्टीका नेताहरु लक्षित गरेको भनेर धेरैले बुझेका छन् । प्रम ओलीको उक्त अभिव्यक्तिलाई पार्टीभित्रकै कतिपय नेताहरुले आफ्नो असफलता छोप्न राष्ट्रवादी कार्ड फालेको संकेतका रुपमा लिएका छन् ।

स्थायी समिति सदस्य देव गुरुङले बैठकका एजेण्डाहरु पहिल्यै तय भइसकेकाले त्यो बाहेकका एजेण्डामा छलफलको आवश्यकता ठानिएमात्रै छलफल हुन सक्ने बताए । उनले पार्टी र सरकारको बारेमा छलफलकै एजेण्डा तय भइसकेकाले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिको विषय पनि त्यसैभित्र पर्न सक्ने बताए । ‘पार्टीसँग जोडिएका विषयमा छलफल हुने नै भयो । तर पार्टीसँग नजोडिएका अन्य केही विषयहरुका विषयमा भने आवश्यक्ता अनुसार छलफल गर्ने नगर्ने बैठकमै कुरा होला’, गुरुङको भनाइ छ ।

-ratopati

ताजा समाचार