होमपेजUncategorizedअहिलेकै अबस्थाको खुकुलो लकडाउन साउन ७ सम्म

अहिलेकै अबस्थाको खुकुलो लकडाउन साउन ७ सम्म

काठमाडौँ , हाल कायम रहेको लकडाउनलाई साउन ७ गतेसम्म जारी राख्ने सरकारले निर्णय गरेको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद्ले बैठकले सो लगायतको थप निर्णय गरेको हो । सोही बैठकले प्रदेश सरकार र स्थानीय तहरुलाई स्थानीय स्तरको जोखिम मूल्यांकन गरेर लकडाउनलाई कार्यान्वयन गराउन सक्‍ने निर्णय पनि गरेको छ । बैठकमा आन्तरिक तथा बाहय हवाइ उडाउन खुलाउने विषयमा छलफल गरिएको भए पनि निष्कर्षमा पुग्न नसकेको बताइएको छ । यस अघि जेठ २८ मा बसेको मन्त्रिपरिषद् बैठकले असार १ गतेबाट लकडाउन खुकुलो पार्ने निर्णय गरेको थियो । जेठ २८ मा बसेको बैठकले उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार तीन चरणमा लकडाउन खोल्ने निर्णय लिएको थियो । पहिलो चरण २१ दिन, दोस्रो चरण १५ दिन र थप १५ दिन तेस्रो चरण गरी लकडाउन पूर्ण रूपमा खुला गर्ने सरकारको नीति थियो । तर, पहिलो चरण सकिएपछि थप २१ दिन सरकारले लकडाउन पहिलो चरणकै जस्तै गरि लम्बाएको हो ।

सोमबारको निर्णय अनुसार अब साउन ७ सम्म सार्वजनिक सवारीका साधनहरु चल्ने छैनन् भने निजी सवारीका साधन अहिले जस्तै जोर विजोर प्रणालीमा चल्नेछन् । उद्दार बाहेकका सबै हवाई उडान बन्द नै हुनेछन् भने विद्यालय तथा शैक्षिक संस्थाहरू पनि बन्द नै रहने भएका छ्न । लकडाउन खुकुलो देखिएको भए पनि अबको यस अबधिमा पनि सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला रहने छैनन् । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ । रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवा दिने गरी मात्र खुला गर्न सकिने तथा क्वारेन्टिन बनाइएका बाहेकका होटलहरू बन्द नै रहनेछन् । सोमबारको बैठकले लकडाउन खुकुलो भएको भए पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएले सामाजिक दुरि , मास्क र स्यानिटाइजर प्रयोगलाई कडाईपूर्वक लागू गर्ने निर्णय पनि गरेको छ ।

ताजा समाचार