होमपेजताजा समाचारआज सुर्य ग्रहण : ग्रहण लागेका बेला गर्न नहुने कामहरु

आज सुर्य ग्रहण : ग्रहण लागेका बेला गर्न नहुने कामहरु

चितवन , असार ७ – आज बिहान १० बजेर ५४ मिनेट देखि खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने छ ।

काठमाडौंमा बिहान १० बजेर ५४ मिनेट, पोखरामा बिहान १० बजेर ५२ मिनेट, महेन्द्रनगर कञ्चनपुरमा बिहान १० बजेर ५४ मिनेट, जनकपुरमा बिहान १० बजेर ५६ मिनेट र भद्रपुर झापामा बिहान ११ बजेर ५२ मिनेटबाट सूर्यग्रहण प्रारम्भ (स्पर्श) हुने बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी विज्ञान सङ्ग्रहालय विकास समितिले जनाएको छ ।

समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार नेपालको लिम्पियाधुरा कालापानी क्षेत्रबाट ९३ प्रतिशत सूर्यग्रहण देख्न सकिन्छ । त्यसैगरी काठमाडौँ र जनकपुरबाट ८२ प्रतिशत, पोखराबाट ८८ प्रतिशत, भद्रपुर झापाबाट ८१ प्रतिशत र महेन्द्रनगर, कञ्चनपुरबाट ९३ प्रतिशत सूर्यलाई ग्रहणले ढाकेको देख्न सकिन्छ । ग्रहणको अवधि ३ घण्टा ३३ मिनेटको हुनेछ । धार्मिक ग्रन्थ अनुसार खग्रास सुर्य ग्रहण लागेको बेला के काम गर्न हुने र के गर्न नहुने भनी उल्लेख गरिएको छ जस अनुसार गर्न नहुने काम यी हुन ।

१. ग्रहणको समयमा भोजन र जलआदि ग्रहण गर्न बर्जित गरिएको छ ।
२. ग्रहणकालमा भोजन बनाउनु् वा यसको तयारी गर्नु समेत हुदैन ।
३. ग्रहणकालमा कुनै पनि शुभकार्यको थालनी गर्नु हुदैन अन्यथा असफलता प्राप्त हुनेछ ।
४. ग्रहणकालमा देव पूजनका साथै देवीदेवताको मूर्तिस्पर्श गर्नबाट बच्नु पर्दछ ।
५. ग्रहणको सूतक कालमा उपासना वा देव दर्शन बर्जित रहन्छ ।
६. यस कालमा मदिरा, धुम्रपान वा सुर्ति सेवन गर्नुहुदैन अन्यथा ग्रहणको दुष्प्रभाव पर्दछ ।
७. ग्रहणको समयमा जुठो भाडाँ वा चुल्हो राख्नु हुदैन ।
८. यस कालमा माछामासु काट्ने वा बेच्न अुशभ हुने मान्यता छ ।
९. ग्रहणकालमा कपाल र नङ काट्नु वा काट्न लगाउनु हुदैन ।
१०. यस कालमा सिलाई कटाइ गर्नु समेत अशुभ मानिन्छ ।
११. ग्रहण कालमा तिखा, धारिलो हतियारको प्रयोग गर्न बर्जित रहन्छ ।
१२. ग्रहणकालमा निदाउनु समेत हुदैन अन्यथा यसले हानि पुर्‍याउने धार्मिक मान्यता छ ।
१३. ग्रहणको समयमा शारीरिक सम्बन्ध राख्न बर्जित छ । अन्यथा अशुभ हुने विश्वास छ ।
१४. ग्रहणलाई नागों आखाँले हेर्नु हुदैन ।
१५. यस कालमा ग्रहणको छायाँबाट गर्भवती महिलाले विशेष रूपमा बच्नु पर्दछ ।
१६. ग्रहणकालमा वृद्ध र रोगी मानिसले घर बाहिर निस्कनु हुदैन ।

ताजा समाचार