होमपेजविचार/ब्लगपहरामा हुर्किएको पीपलः राजनेता केपी ओली

पहरामा हुर्किएको पीपलः राजनेता केपी ओली

नेपाली राजनीतिका विगत तीन दशकमा कसैको बोलीमा सशक्त विरोध वा समर्थन भएको छ भने त्यो सूचीको माथिल्लो पंक्तिमा प्रधानमन्त्री केपी ओलीको नाम रहनेमा शंका छैन । विगत आधा दशकका बारेमा त चिया पसलहरुमा दैनिक चर्चा नै चलिरहेको छः ‘मिडियामा कि केपी ओलीको बोली विक्छ, कि गगन थापाको गनगन ।’

प्रधानमन्त्री ओलीको बोलीका सन्दर्भमा नेपालमा मात्र होइन विगत १०० दिनमा भारतका ठूला सञ्चार माध्यमहरुमा पनि हेडलाइन बन्ने गरेको सत्य कसैबाट छिपेको छैन । ओली यस्तो बोल्छन्, जुन बोलीले विरोधको पासो थापेर बस्नेहरु कहाँ पुग्छन् कहाँ । आरोप र आलोचनाका पारदर्शी पर्खालहरु उनका शब्दरुपी गोलीले एकैछिनमा क्षतविक्षत पारिदिन्छ ।

सुन्दरीजलबाट निस्कने सिसाको गोली र बालकोट (अहिलेलाई बालुवाटार भनौं) बाट निस्कने शब्दको गोलीमा धेरै नै फरक छ । सिसाको गोलीले हासिल गर्न नसकेको देशको सार्वभौमिकता आज ओलीको बोलीले हासिल भइरहेको प्रष्ट देख्न सकिन्छ । त्यसो त भौतिक आक्रमण गर्ने सिसाको गोली भन्दा वैचारिक हमला गर्ने बोली नै राजनीतिको केन्द्रविन्दु हो भन्ने केपी ओलीले राजनैतिक जीवनको शुरुवातदेखि नै बुझे । त्यसैकारण उनी सदैव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलिय जनवादको पक्षमा छाति चौडा पारेर उभिई नै रहे र आजपर्यन्त उनको पक्षधरता प्रष्ट छ ।

प्रधानमन्त्री ओलीलाई आजको विरासत ‘आए आँप गए झटारो’ भने झैं गरी केटाकेटी खेलाबाट प्राप्त भएको होइन । समयको कठिन परीक्षामा पटक पटक उत्तीर्ण भएर हासिल भएको यो जिम्मेवारीलाई त्यसैकारण उनी निकै मेहेनतपूर्वक निर्वाह गरिरहेकाछन् ।
तेह्रथुममा जन्मिएका ओलीले बाल्यकाल झापाको कन्काइ नदीको किनारमा बिताए । डेढ वर्षको उमेरमै उनले जन्म दिने आमा गुमाए । बाढीले घर र जमीन सबै बगाएपछि ओलीको परिवार सुकुम्वासी बन्न पुग्यो । टुहुरो एवं सुकुम्बासी परिवारको सदस्यको बाल्यकाल कति पीडादायी रह्यो होला ? शब्दमा व्यक्त हुनै सक्दैन ।

पछि रामनाथ दाहाल (झापा आन्दोलनका सहिद) का घरमा काम गर्दै उनी विद्यालय जान थाले । समयको दुःखद नियती, आफूलाई शरण दिने अभिभावकलाई पनि उनले झापा आन्दोलनका बेला गुमाउनुप¥यो । रामनाथ दाहाल वि. सं. २०२९ सालमै अन्य तीनजना योद्धाहरुसँगै सुखानीको जङ्गलमा मारिए । यसरी उनको औपचारिक शिक्षा धेरै पर जान नसके पनि उनको अध्ययनशिलताको पहेलीहरु धेरै समाकालिन नेताहरु र व्यक्तित्वहरुबाट जान्न बुझ्न सकिन्छ ।

प्रधानमन्त्री ओली ‘सुनको थालमा हिराको चम्चाले खाना खाएर’ हुर्किएका थिएनन् । अभावमा जन्मिए, अभावमै हुर्किए र अभावमै कम्युनिष्ट राजनीतिमा लागे । स्वतन्त्रताका पक्षमा  सङ्घर्ष गर्दा आफैँ जेल परे । न छोराछोरी पाए, न त पार्टीभित्र सहयोद्धाहरुको साथ पाए । अरु कुरामा नमिले पनि उनलाई खेद्ने सवालमा भने सबै नेता मिल्थे । उनीमात्रै होइन, उनलाई साथ दिनेहरु पनि खेदाइमा पर्दै आएका हुन् । उनका लागि पार्टी पहरो थियो र उनी पहराको पीपलझैँ हुर्किए ।

राजनीतिको कठोर र निर्मम बाटोमा उनले पाएका हण्डर–ठक्करले उनलाई एउटा कुशल नेता बनाउँदै लग्यो । उनीभित्रको प्रगतिशील सोच राधिका शाक्यसँग अन्तरजातीय विवाहमा पनि प्रतिविम्वन हुन पुग्यो । धेरै ठक्करले ढुङ्गा पनि राम्रो मूर्ति बन्छ भनेझैँ उनी ठक्करै ठक्करमा कुँदिदै राजनेता बन्न पुगे ।

इतिहासले पनि ओलीलाई परीक्षा लिँदै आएको छ । पहिले प्रधानमन्त्री हुँदा नाकाबन्दी थियो र दोस्रो पटक हुँदा अहिले ‘कोरोना भाइरस’ आइदियो । पहिलो पटक प्रधानमन्त्री हुँदा पनि उनी आफ्नो राजनीतिक उचाई बढाएरै राजनीतिको मैदानमा फर्किएका थिए । सायद ओली मात्रै यस्तो प्रधानमन्त्री होलान्, जो प्रधानमन्त्री पद छोड्दा पनि उत्तिकै ‘हाइहाइ’ थिए ।
अडान नभएको पार्टीको रुपमा आलोचित नेकपा एमालेको नेतृत्व लिने अवसर पाउँदा उनै ओलीको नेतृत्वमा तत्कालीन एमाले गत सङ्घीय निर्वाचनमा बहुमत नजिकको सबैभन्दा ठूलो पार्टी बन्यो । स्थानीय निर्वाचनमा पनि ओलीलाई हेरेरै जनताले एमालेका उम्मेदवारलाई मत दिएको ठोकुवा गर्न सकिन्छ ।

चौध महिनामै राजनीतिक हिसाब खोज्नेहरुले प्रधानमन्त्री ओलीको चौध वर्षे कठोर जेल जीवनको हिसाब त कसरी बुझ्लान् र ? पञ्चायतविरुद्ध सङ्घर्ष गरेर जेल बस्दा चिसोकै कारण उनको किड्नी बिग्रिएको पनि उनीहरुलाई चासोको विषय नबन्ला । एमालेलाई पहिलो पार्टी बनाउँदै युद्धमा हजारौँ योद्धाहरु गुमाएर आएको माओवादीलाई एकतामा ल्याउनु पनि सामान्य नै लाग्न सक्ला कसैकसैलाई । सङ्कटको भूमरी छिचोल्दै कम्युनिस्ट पार्टीलाई यो स्तरमा ल्याइपु¥याउन उनले खेलेको नेतृत्वदायी भूमिकाको मूल्याङ्कन कसैले गरेनछन् भने पनि इतिहासले पक्कै गर्नेछ ।
दोस्रो पटक स्वदेशमै किड्नी ‘ट्रान्सप्लान्ट’ गर्ने बेला प्रधानमन्त्री ओलीले भनेका थिए, ‘देशको अभिभारा धेरै छ, म अहिले नै अलप हुन्न ।’ त्यति माथिल्लो स्तरको आत्मबल देखेर म छक्क परेको थिएँ त्यतिबेला । होस् नआउने हो कि भन्ने चिन्ता र चासो रहेकै बेला अप्रेशन सफल भएको खबरपछि देशभरका जनतामाझ खुसीले सीमा नाघ्यो । मजस्ता अरु लाखौँ युवाहरुले पनि उनलाई आफ्नो अभिभावक नै मान्दा रहेछन् । राजनीतिको ‘डिएनए’ त्यति शक्तिशाली हुँदो रहेछ भन्ने पनि त्यस क्षण पुष्टी भयो ।

ओली आफ्नो प्रतिकुल पारिवारीक परिस्थिति र स्वास्थ्यसँग मात्रै जुधेनन्, आफ्नैहरुसँग पनि जुध्नुप¥यो । पार्टीभित्रको गुटसङ्घर्ष चर्किरहेका बेला नयाँ पार्टीसँगको एकताका कारण उनले आफ्नो स्वास्थ्यलाई समेत सामान्य माने । ‘पदलोलुप’ नै भनुन् सही, तर उनले निकाले जत्तिकै परिणाम समकालीन नेताहरुबाट यो स्थितीमा सम्भव थिएन । यो गुटगत मनोविज्ञान होइन, प्रधानमन्त्रीको सचिवालय बस्दा उनलाई नजिकबाट बुझ्न पाउँदाको निष्कर्ष हो ।

नेपाल गरीब र पीछडिएको मुलुक हो भन्ने आम धारणामा उनले नयाँ अवधारणा ल्याए । रेल, पानी जहाज, हावाबाट विजुली, डिजिटल नेपाल, उज्यालो नेपाललगायतका अवधारणा उनले देखेका र देखाएका सपनाहरु हुन् । ‘सुखी नेपाली, समृद्ध नेपाल’ उनैको कल्पना हो । स्वीजरल्यान्ड, सिंगापुरजस्तो होइन, नेपाल नेपालजस्तै हुनुपर्छ र यो मुलुकलाई समृद्ध बनाउनुपर्छ भन्ने उनको सोचको ‘फलोअर’ हुनु नपर्ने कुनै कारण छैन ।

परिवार र पैसाका लागि मरिहत्ते गर्ने भएको भए ओली उहिल्यै सिद्धिइसक्ने थिए होलान् । प्रधानमन्त्री पद उनका लागि पदलोलुपता नभई सबैभन्दा ठूलो दलको अध्यक्षको हैसियतले मिलेको स्वभाविक जिम्मेवारी हो । उनको सपनामा देशका जनताले आफ्नो सपना महशुस गरेर अझ भनौं केपी ओलीकै ‘फेस भ्यालु’को कारण पार्टीले चुनाव जितेको हो ।

पार्टीभित्रको आन्तरिक किचलो र प्रतिपक्षको निरन्तर निषेधका बीचमा पनि उनी सतिसालझैँ सरकारको नेतृत्वमा उभिएका छन् । चिकित्सकको सुझाव समेत नमानेर मुलुकको निम्ति अस्वस्थ शरीर बोकेरै पनि स्वस्थ मानसिकताका साथ सक्रिय छन् । उनी निरुत्तर छैनन्, किनकि उनले उत्तर दिने प्रशस्तै परिणाम दिइसकेका छन् ।

राजनीतिक क्रान्तिले फोहोर बनिरहेको मुलुकलाई सफा गर्दै उनले नयाँ संरचनासहित नयाँ युगको सुरुवात गरेका छन् । राजनीतिको यो फरक खाले खेलमा उनी गोल हान्ने भन्दा पास मिलाउने भूमिकामा रहँदै आएका थिए । तर, अहिले उनी आफैँ ‘स्ट्राइकर’ बनेका छन् र भटाभट पोस्टमा प्रहार गरेका छन् । खेलमा यस्तै हुन्छ–समर्थक उत्साहित छन्, फरक टिमकाहरु निराश मुद्रामा आफ्नै पुर्पुरो हिर्काउँदै छन् । खेलमा अर्को पनि गज्जबको यथार्थ हुन्छ–प्रतिष्पर्धीले गोल हान्दा कसैले पनि खुसी मनाउँदैन ।

उनका अनेकौँ नियमित काममध्येको पछिल्लो असाध्यै सह्रानीय काम होः नेपालको नयाँ नक्सा जारी गर्नु । यो राष्ट्रिय स्वाभिमानका दृष्टिले बहुदलपछिको सबैभन्दा उच्च तहको साहसीक कदम हो । नाकाबन्दीका बेला उनले देखाएको देशभक्ति पनि इतिहासमा दर्ज नै छ ।
नयाँ नक्सा नयाँ चित्र मात्रै होइन, संसारको चौँथो शक्तिशाली छिमेकी मुलुक भारतसँग कुनै हालतमा नझुक्ने खुल्ला सन्देश र स्पष्ट चुनौति हो । पृथ्वीनारायण शाहले त्यतिबेला भौगोलिक एकता गर्नु र ओलीले यतिबेला गुमेको जमिन हाम्रो हो भनेर दृढतापूर्वक दावी गर्नुलाई उस्तै प्रकृतिको कदम मान्न सकिन्छ ।

जन्मजात ओलीको विरोध गर्नेहरुलाई त उनको बोली उट्पट्याङ लाग्ला, तर जनताले बुझ्ने भाषामा मन्तव्य राख्नु उनको सह्रानीय विशेषता हो । बालकोटस्थित आफ्नो घरलगायत सबै सम्पत्ति आफ्नो शेषपछि ट्रष्टलाई दिने घोषणा गरेर उनले राजनेताको उदाहरण समेत पेश गरेका छन् ।
ओली आफ्नो लाइनमा स्पष्ट छन्, वैचारिक रुपमा चट्टानी अडान छ, अभिव्यक्तिमा प्रष्टता छ । उनी ठाउँ हेरेर बोल्दैनन्, जहाँ पनि आफ्नो एउटै धारणा राख्छन् । नेकपा मात्रै होइन, मुलुकलाई नै मिलाउनुपर्ने र देशको राजनीतिलाई पनि सही दिशा दिनुपर्ने जिम्मेवारी उनले कुशलतापूर्वक वहन गरिरहेका छन् । नेपाली जनताको मुर्छित सपना ब्युँताउने आदर्श नेता ओली एक सतक पूरै बाँचुन्, शुभेच्छा सहित शुभकामना ! ( साबार – सुनौलो नेपाल – Debendra Dhakal )

ताजा समाचार