होमपेजचितवन विशेषचितवन उधोग संघले स्थापना दिबस मनायो

चितवन उधोग संघले स्थापना दिबस मनायो

 

चितवन , असार ५ – चितवनका उद्योगहरूको छाता संस्था चितवन उद्योग संघले आफ्नो ३१ औं स्थापना दिवस मनाएको छ । संघको सभाहलमा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष राजु पौडेलले सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै ऐतिहासिक र गरिमामय दिवसको पुनित अवसरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणले सिर्जित वर्तमान विषय परिस्थितिमा सबै उद्यमी मित्रहरु तथा सर्वसाधारणलाई कोरोना भाइरसको संक्रमणबाट बच्ने र नीजि क्षेत्रको अर्थतन्त्रको पुनरुत्थानले गति लिन सकोस् भन्ने कामना गर्दै आगामि दिनमा समेत संघको चौतर्फी विकास र उद्यमीहरुको हकहितमा कटिवद्ध भई लाग्ने प्रण व्यक्त गर्नुभयो ।
उहाँले संघको स्थापना गर्नुहुने आदरणीय संस्थापकहरु, संघको स्थापनाकालदेखि हालसम्म संघको मर्म र भावना बमोजिम अघि बढ्नको लागि सक्रियताका साथ तत्पर भई विभिन्न कालखण्डमा आईपरेका आरोह, अवरोह पार गर्दैै संघको गरिमालाई उच्च राख्न समर्पित हुँदै उद्यमीहरुलाई प्रेरित गर्नुहुने सम्पूर्ण पूर्व अध्यक्षहरु, अग्रजहरु, वर्तमान कार्यसमितिमा रही हातेमालो गर्दै संघको गरिमालाई अझै मर्यादित र व्यवस्थित बनाउन लागिरहनु भएका पदाधिकारी एवं सदस्यहरु, इकाई समितिका अध्यक्ष एवं सदस्यहरु, महिला उद्यमी मञ्चका अध्यक्ष एवं सदस्यहरु, युवा उद्यमी मञ्चका अध्यक्ष एवं सदस्यहरु, वस्तुगत समितिका अध्यक्ष एवं सदस्यहरु एवं संघका सम्पूर्ण सदस्य उद्योगीज्यूहरु, सचिवालयका सम्पूर्ण कर्मचारीहरु तथा सम्पूर्ण शुभचिन्तक महानुभावहरुमा संघको ३१ औं स्थापना दिवसको अवसमा शुभकामना समेत व्यक्त गर्नुभयो ।
चितवन उद्योग संघका संस्थापक अध्यक्ष दिल बहादुर ताम्राकारले ब्यानर वाचनसँगै केक काटेर कार्यक्रमको उद्घाटन गर्नुभयो । संस्थापक अध्यक्ष दिल बहादुर ताम्राकारले ३० वर्ष अघि संघको स्थापना गर्दाको यथार्थ वस्तुस्थितिको बारेमा प्रष्ट्याउनु भएको थियो । स्थापना दिवसको अवसरमा पूर्व अध्यक्षहरु वामदेव खनाल, गुणाकर खरेल, सोमराज मरहट्टा, पूर्व अध्यक्ष एवं गभर्निङ काउन्सिलका अध्यक्ष हरिप्रसाद सुवेदी, पूर्व अध्यक्ष एवं नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, संघका पूर्व अध्यक्ष एवं पूर्व अध्यक्ष मण्डलका अध्यक्ष भीमबहादुर पाण्डे, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडीले आफ्नो कार्यकालको अनुभव सहित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
३१ औं स्थापना दिवसको अवसरमा पूर्व कार्यसमिति क्लवका सदस्यहरु रामचन्द्र गौतम, बद्री प्रसाद अधिकारी, चितवन उद्योग संघका उपाध्यक्षहरु त्रिलोचन कँडेल, मदन घिमिरे, दुर्गाप्रसाद भण्डारी, गजेन्द्र अधिकारी, युग राज वस्ती, कार्यसमिति सदस्यहरु अमरबहादुर अधिकारी, बिष्णु प्रसाद पौडेल लगायत मञ्चका उपाध्यक्ष सुरन्द्र कार्की, चितवन औद्योगिक विकास साकोसका लेखा सुपरीवेक्षण समितिका संयोजक गोविन्द अर्याल लगायतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

ताजा समाचार