होमपेजचितवन विशेषचितवनमा क्यान्सर पिडित वृद्धले जिते कोरोना

चितवनमा क्यान्सर पिडित वृद्धले जिते कोरोना

चितवन , असार ५ – फोक्सोमा क्यान्सर भएर उपचार गराईरहनु भएका एक बृद्धले कोरोनालाई परास्त गर्नुभएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) ले बृद्धि र रोगीहरुलाई बढी प्रभावित पारेको नजिरलाई परास्त गर्दै ७५ वर्षिय बृद्धले कोरोना पराजित गर्नुभएको हो ।

कोरोनाले मुख्य रुपमा बिरामीको फोक्सोमा नै संक्रमण गर्ने भए पनि उच्च आत्मबलका साथ उचित उपचार भएर ती बृद्ध करोना मुक्त हुनु भएको छ । उहाँसँगै ७३ वर्षीया उहाँकी श्रीमतीले पनि कोरोनालाई परास्त गर्नुभएको छ ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा बिहिबार गरिएको स्वाब परीक्षणमा उहाँहरु दुवैको रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार भरतपुर अस्पतालले डिस्चार्ज गरेको छ ।

भरतपुर महानगरपालिका वडा नं. ६ केशरबागका उहाँहरुको जेठ ८ गतेबाट उपचार थालिएको थियो । करिब एक महिना उपचारपछि उहाँहरुले कोरोनालाई परास्त गरेर घर फर्किनु भएको छ ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. श्रीराम तिवारीले शुरुका दिनमा श्वास फेर्न केही असजिलो र खोकी देखिएको भए पनि उहाँलाई कुनै जटिल समस्या नआएको बताउनुभयो । तिवारीले भन्नुभयो “फोक्सोको क्यान्सर भएका कारण हामीले उच्च निगरानी गरेका थियौं, तर उहाँलाई जटिल समस्या आएन ।” पाको उमेर, फोक्सोको क्यान्सर हुँदाहुँदै पनि उहाँले उच्च मनोबलका साथ कोरोनालाई परास्त गर्नुभएको डा. तिवारीले बताउनुभयो ।

बिहीबार डिस्चार्ज भएपछि संक्षिप्त प्रक्रिया दिंदै बृद्धले उच्च मनोबल बनाएमा कोरोनालाई सजिलै जित्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो “अस्पतालमा कुनै किसिमको उपचार अभाव भएन । म सबै चिकित्सक र नर्सप्रति आभारी छु ।” उहाँले मनोबल उच्च राख्दै उपचार गरेमा कोरोना रोग ठूलो समस्या नभएको बताउनुभयो ।
निकै प्रफुल्लित देखिनु भएका बृद्धले भन्नुभयो “म सबै देशबासीलाई भन्न चाहन्छु, कोरोना लागिहाल्यो भने आत्तिनु हुँदैन्, मैले उच्च मनोवलका कारण नै कोरोना जितेँ ।”

भारतको दिल्लीमा क्यान्सर रोगको उपचार गराएर फर्कएपछि गरिएको परीक्षणमा उहाँमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसको २ दिनपछि उहाँहरुसँगै भारत गएका छोरामा पनि संक्रमण देखिएको थियो । संक्रमित वृृद्धवृद्धाको भरतपुर अस्पतालमा उपचार भयो भने छोराको कोरोना विशेष अस्पतालमा उपचारपछि निको भएर यस अघि नै घर फर्किसकेका छन् ।
भरतपुर अस्पतालमा अहिले २७ जना कोरोना संक्रमित उपचारत रहेका छन् । कुनै पनि संक्रमितमा जटिल समस्या नभएको डा. तिवारीले जानकारी दिनुभयो ।

– Newsvitto

ताजा समाचार