होमपेजचितवन विशेषकोरोना अस्पताल बन्द घोषणा गरेको केही घण्टामै भरतपुर अस्पतालले कुरा फेर्यो

कोरोना अस्पताल बन्द घोषणा गरेको केही घण्टामै भरतपुर अस्पतालले कुरा फेर्यो

चितवन , असार , २ – भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल बन्द भएको घोषणा गरेको केही घण्टा भित्रैमा भरतपुर अस्पतालले अर्को विज्ञप्ति जारी गर्दै मर्मत सम्भारका लागि सेवा स्थगित गरिएको जनाएको छ । भरतपुर अस्पतालले मंगलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै कोरोना अस्पताल बन्द गरिएको घोषणा गरेको थियो । तर साँझ अस्पतालले आफ्नै उक्त घोषणालाई खण्डित गर्नेगरी अर्को विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्तिमा कोरोना अस्पतालको मर्मत सम्भारका लागि हाललाई स्थगन गरिएको भनिएको छ जबकी अन्य सम्पूर्ण व्योहोरा उस्तै रहेको अघिल्लो विज्ञप्तिमा स्पष्ट भाषामा ‘कोरोना अस्पतालमा रहेका १८ जना कोरोना संक्रमितहरुलाई भरतपुर अस्पतालमा सारेर कोरोना अस्पताल बन्द गरिएको छ‘ भनिएको थियो ।

श्रोतका अनुसार भरतपुर अस्पतालले सत्तापक्षकै एक समूहबाट ठूलो दबाबका बीच अस्पताल बन्दको घोषणा गरेको थियो । बन्दपछिको अवस्थामा अस्पताल माथि सत्तारुढ दलकै अर्को पक्षबाट पहिलेको भन्दा ठूलो दबाब परेपछि अर्को विज्ञप्ति आएको हो ।

कोरोना संक्रमितलाई मात्रै उपचार गर्न भनी स्थापना गरिएको उक्त अस्पताल ७२ घण्टामै स्रोतसाधन व्यवस्थापन गरी बनाइएको भनी प्रशंसा भए पनि हरेक गतिविधिमा टिकाटिप्पणी हुन थालेपछि सबै काम ओझेल परेका थिए ।

गत चैतदेखि भरतपुर–१० स्थित चितवन प्रदर्शनी केन्द्रमा सञ्चालनमा आएको सो अस्पताल सुरुदेखि नै विवादमा तानिदै आइरहेको थियो । अस्पतालमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारले छापा मारेको थियो । कर्मचारीले जिन्सी सामान अपचलन (चोरी)गरेको आरोपसमेत लागेपछि त्यसको उजुरी प्रहरीमा छ । भरतपुर महानगरपालिकाको अग्रसरतामा खोलिएको सो अस्पताल बैशाखदेखि भरतपुर अस्पतालको व्यवस्थापनमा सञ्चालन भइरहेको थियो । -Kayakairan

ताजा समाचार