चितवन, जेठ ३१– तीन दिनमै तयार पारिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल अहिले बिजोग अवस्थामा पुगेको छ । अस्पताल भित्रै पानी बग्न थालेपछि त्यहाँ रहेका कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरुले बिरोध गर्दै शुक्रबार भिडियो नै सार्वजनिक गरे । भिडियो सार्वजनिक भएर चौतर्फी बिरोध सुरु भएपछि त्यहाँ रहेका सबै संक्रमितहरुलाई भरतपुर अस्पताल सारिएको छ ।
आज (शनिबार) अपरान्ह कोरोना अस्पतालमा रहेका १८ जना कोरोना भाइरस संक्रमितलाई भरतपुर अस्पतालको आइसोलेसनमा सारिएको हो । कोरोना संक्रमितलाई सार्नका लागि संयुक्त एम्बुलेन्स चालक संघ चितवनले दुई वटा एम्बुलेन्स सहयोग गरेको थियो । अस्पतालमा संक्रमित हुँदा मर्मत संभार गर्न कठिन भएकाले मर्मतको अवधिका लागि उनीहरु सबैलाई भरतपुर अस्पतालमा सारिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले जानकारी दिए । उनले भने–‘बिरामी हुँदा मर्मत गर्न कठिन हुन्छ, मर्मतका लागि नै सबै संक्रमितलाई भरतपुर अस्पताल सारेका हौं ।’
उनले सो अस्पतालमा रहेका चार जना डिस्चार्ज भएसंगै सबै १८ जनालाई सारिएको बताए । संक्रमितहरुलाई अस्पतालको ‘ए’ ब्लकको भुई तलामा तयार पारिएको आइसोलेसन कक्षमा राखिएको छ । भरतपुर अस्पतालमा हाल २५ जना संक्रमितको उपचार भइरहेको छ । भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले ममंत संभारपछि कोरोना अस्पताल पुनः संचालन गरिने बताए ।
तीन दिनमै तयार पारिएको भनेर प्रचार गरिएको भरतपुर कोरोना अस्पताल विवादमा तानिदै आएको छ । अस्पतालको सामग्री चोरिएको प्रकरणले अहिले कोरोना अस्पतालमाथि अख्तियारले छानबिन गरिरहेको छ । narayanionline